रकम फिर्ता गर्न नसकेपछि देउराली सहकारीले बचतकर्तालाई दिन थाल्यो जग्गा – Nepal Press

रकम फिर्ता गर्न नसकेपछि देउराली सहकारीले बचतकर्तालाई दिन थाल्यो जग्गा

काठमाडौं । केही महिनादेखि तरलता समस्याका कारण संकट झेलिरहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले ठुला बचतकर्ताहरुलाई जग्गा दिन थालेको छ । वित्तिय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन ।

सो कारण उत्पन्न विावदका बीच सहकारीले शेयर सदस्यहरुको भेला गरेर बचत फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताको कार्यन्वयन स्वरुप बचतकर्तालाई जग्गा दिने कामको सुरुवात गरिएको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाइले बताए ।

सहकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै जनताले रातदिन मिहिनत गरी जम्मा गरेको रकम जुनसुकै हालतमा फिर्ता दिनु संस्थाको दायित्व भएको चौँलागाइले बताएका छन् । चौलागाँइले चालु पुँजी अभावमा जग्गा दिने बचन दुई महिना अघि सदस्यहरुको भेला गरेर गरेका थिए ।

सहकारी समस्यामा परेपछि केदारप्रसाद चौँलागाइको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधि रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्र्डस एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नवलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको देउरालीले बताएको छ ।

सबै बचतकर्ताको रकम सुरक्षित होस् भनि जग्गा पास गर्ने समय भन्दा अगाडि नै रविन्द्र चौलागाइले ठुला बचतकर्ताहरुलाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत सुरक्षण बापत चेक हस्तान्तरण गरेका थिए । साना बचतकर्ताहरुलाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता दिँदै आइरहेको छ ।

सहकारीले तरलता व्यवस्थापनको लागि लोन रिकभरीमा पनि सक्रिय रुपमा लागिरहेको बताएको छ । देउरालीले ठुला बचतकर्ताहरुको प्रतिनिधित्व गरेको बचतकर्ता प्रतिनिधि कमिटीले आफनै नाममा दर्ता गरेको कम्पनीमा जग्गा पास गरिसकेको हुँदा सहकारीको तरलता अभाव छिट्टै सहज हुने बताएको छ ।

प्रेस विज्ञप्तीमा भनिएको छ ‘हिजो जुन किसिमको अवस्था थियो त्यसलाई विस्तारै सहजताको अवस्थामा ल्याइएकोले सम्पुर्ण बचतकर्ताहरुलाई बचत रकम जुनसुकै हालमा फिर्ता हुने कुरामा विश्वास ब्यक्त गर्न चाहन्छौ । त्यसको लािग धर्यता र संयमता अपनाइ दिनु हुन विनम्र अनुरोध गर्दछौ ।’ देउरालीले सम्पुण सदस्यहरु संयमित हुनुपर्ने, सहयोगी हुनुपर्ने, उजुरी बाजुरी तथा चेक बाउन्स गर्ने, काम गर्न असहज बनाइदिने, कर्मचारीहरुलाई तनाब सिर्जना गरिदिने जस्ता कामहरु नगरिदिन पनि अनुरोध गरेको छ । सदस्यहरुबाट त्यो खालको गतिविधि अवका दिनमा नहुने कुरामा हामीले विश्वास समेत गरेका छौ–विज्ञप्तीमा उल्लेख छ । सहज तरिकाले काम गर्ने वातावरण बनाइदिन सहकारीले अनुरोध समेत गरेको छ ।

संस्था समस्यामा परेपछि गठन भएको बचतकर्ता प्रतिनिधि कमिटीसँग अध्यक्ष चौलागाइले हरक्षण सहकार्य गर्दै अघि बढेका छन् । सोही कमिटीले दर्ता गरेको कम्पनीको नाममा अन्य थप जग्गा पनि धितोको रुपमा पास दिँदै जाने र सो कमिटीसँगको सकहार्यमा यस संस्थाको तरलता संकट व्यवस्थापन हुने चौलागाइले बताएका छन् । अध्यक्ष चौलागाँइले इच्छुक सम्पुर्ण सदस्यहरुलाई पुन नियमित कारोबार गर्न समेत अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *