विकासको बलमा निरन्तर चुनाव जितेका विष्णुलाई यसपटक कति सहज ? – Nepal Press

विकासको बलमा निरन्तर चुनाव जितेका विष्णुलाई यसपटक कति सहज ?

बुटवलको विकास देखेर प्रचण्डले गाएका थिए विष्णुको गुणगान

रूपन्देही । २०७६ साल असोज ९ गते तत्कालीन नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुटवल १० रामनगरमा निर्माणाधीन बुटवल सम्मेलन केन्द्रको निरीक्षण गर्दै तत्कालीन नेकपाका महासचिव विष्णु पौडेललाई भनेका थिए- ‘आफ्नो क्षेत्रमा यस्तो गर्नुहुँदो रहेछ र त सधैँभरि चुनाव जित्नु हुने रहेछ ।’

प्रचण्डको प्रशंसापछि बुटवलमण्डपको निरीक्षणमा पुगेका नेकपाकालीन तत्कालीन नेता र सहभागीबीच केहीबेर हाँसो चल्यो ।

गत असोज २४ गते बुटवलमा आयोजित एक कार्यक्रममा राप्रपाका नेता तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले विष्णु पौडेललाई विकासको ‘प्रतीक’ को रूपमा चित्रित गरे । रूपन्देही क्षेत्र नम्बर २ मात्र नभएर सिंगो रूपन्देही र लुम्बिनी प्रदेशका ठूला विकासे आयोजनामा पौडेलको योगदान रहेको भन्दै उनले खुलेर गुणगान गरे ।

थापाको भनाइ थियो- ‘अहिलेको निर्वाचनमा राप्रपा र एमालेका बीचमा तालमेल भएरमात्र होइन, एकआपसमा प्रतिस्पर्धा रहँदापनि रूपन्देहीमा पौडेलको आवश्यकता कसैले पूर्ति गर्न सक्दैन ।’

२०६४ सालदेखि निरन्तर जितिरहेका एमाले उपाध्यक्ष पौडेलले प्रचण्ड र थापाले भनेजस्तै पार्टीभित्र मात्र होइन बाहिरसमेत आफूलाई विकासप्रेमी नेताको रूपमा उभ्याएका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेबाट रूपन्देही-२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पौडेलले निर्वाचनको समयमा मतदातासँगको भेटघाटमा मात्र नभएर हरेक कार्यक्रममा रूपन्देहीको विकास निर्माणलाई जोडिरहेका छन् ।

बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल, प्रदर्शनी केन्द्र, बेलहिया बुटवल ६ लेन सडक, बेलबास बेथरी सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा लुम्बिनी सडक, तिनाउ दानव करिडोर, लुम्बिनी प्रादेशिक अस्पताल भवन, बुटवल मेडिकल कलेज लगायत रूपन्देहीका अधिकांश पूर्वाधार आयोजनाको जस पौडेललाई जाने गरेको छ ।

विगतका दुईवटा सरकारमा अर्थमन्त्री हुँदा रूपन्देहीका दर्जनौं विकास आयोजनामा बजेट विनियोजन गरेकोले उनी मतदातामाझ लोकप्रिय छन् । अर्थमन्त्री हुँदा सबैभन्दा धेरै बजेट र कार्यक्रम आफ्नो जिल्लामा पारेको भन्दै एमाले नेताहरूका बीचमा समेत पौडेलको टिकाटिप्पणी हुने गर्थ्यो ।

पछिल्लो पटक अर्थमन्त्री हुँदा पौडेलले प्रस्तुत गरेको बजेटमा बुटवलसहितका ठूला शहरमा विद्युतको तार भूमिगत गर्ने, बुटवलसहितका सरकारी अस्पतालमा निःसन्तान दम्पतीका लागि आईभीएफ सेवा विस्तार गर्ने, नारायणगढ-बुटवल सडकखण्ड विस्तारलाई तीव्रता दिने, बुटवल-कोहलपुर खण्डको विस्तृत डिजाइन गरी निर्माण थाल्ने, बुटवल मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण थाल्ने, बुटवल धागो कारखाना निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आह्वान गर्ने, तिनाउ नदिमाथि नेपालकै पहिलो सिग्नेचर ब्रिज निर्माण गर्ने जस्ता योजना समावेश गरेका थिए ।

पौडेलले अर्थमन्त्री रहेको बेला सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी, खेलकुद लगायतका दर्जनौं आयोजनाका लागि रूपन्देहीमा मात्रै ११ अर्ब बजेट भित्र्याएका थिए । तिनै पौडेल चौथो पटकको जितको लागि चुनावी मैदानमा उत्रिएपछि पार्टीका नेता कार्यकर्तामात्र नभएर अन्य पार्टीमा आस्था राख्ने रूपन्देहीका उद्योगी व्यवसायी पनि खुलेर उनको पक्षमा देखिन थालेका छन् ।

अर्कोतर्फ पौडेलसँगको प्रतिष्पर्धाका लागि बुटवलमा दरिलो उम्मेदवारसमेत नभएको चर्चा हुन थालेको छ । पौडेलका विरुद्ध सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन गरेको छ ।

तर, पुरानो व्यापारिक केन्द्र रहेको बुटवलका उद्योगी व्यवसायी भने बुटवलको विकासको लागि पौडेलको विकल्प अरु कुनै उम्मेदवार नबन्ने भन्दै पौडेलको पक्षमा उभिन थालेका छन् । बुटवलका उद्योगी यज्ञेश्वर थैव बुटवलको विकासको लागि पौडेलको विकल्प अरु कुनैपनि उम्मेदवार बन्न नसक्ने बताउँछन् ।

‘अर्को व्यक्तिले चुनाव जिते सांसद भएर पाउने तलब भत्ताले आफ्नो र परिवारको केहि प्रगती गर्ला तर, बुटवललाई एउटा सांसद मात्र होइन चुनाव जितेपछि मन्त्री, प्रधानमन्त्री हुने व्यक्ति चाहिएको छ ’, थैव भन्छन् ।

पौडेल पनि रूपन्देहीमा सञ्चालित विकास निर्माण आयोजनालाई पूरा गर्न आफूलाई मतदान गर्न आग्रह गर्दै आएका छन् । ‘अहिले सञ्चालित आयोजना सम्पन्न हुँदा रूपन्देही विकासका हिसाबले मुलुककै रोलमोडल जिल्ला बन्छ, सम्पन्न भएका आयोजनाहरूको संचालन र निर्माणाधीन आयोजना सम्पन्न गर्न मेरो उम्मेदवारी हो ’, उनी भन्छन् ।

पटकपटक मन्त्री भइसकेका र रूपन्देहीको विकासमा महत्वपूर्ण योगदान दिएको कारण पौडेलविरुद्ध प्रतिस्पर्धामा उत्रिएका जुनसुकै उम्मेदवारलाई पनि चुनाव जित्न सहज देखिँदैन ।

सत्तागठबन्धनको समर्थन रहेपनि राष्ट्रिय जनमुक्तिको जनाधार रूपन्देही क्षेत्र नम्बर २ मा कमजोर छ । केशव थापा पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् । हेभीवेट उम्मेदवारसँगको प्रतिस्पर्धा उनीहरूलाई चुनौती बनेको छ ।

गत स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा एमालेले जनमुक्तिसँग तालमेल गरेपनि मत बढाउन नसकेपछि यहाँ जनमुक्तिको जनाधार कमजोर रहेको एमालेको दाबी छ । बुटवलबाहेक तिलोत्तमा र सैनामैनाका १० वटा वडामा जनमुक्तिका वडाअध्यक्षका उम्मेदवारले जम्मा २ हजार ७० मत मात्र प्राप्त गरेका थिए । आफ्नो २ हजार मात्र मत लिएर निर्वाचनमा उभिएका थापा बाँकी मतका लागि सत्ता गठबन्धनको भरमा छन् ।

पौडेल भने निरन्तर निर्वाचन जितेर बुटवलका जनतासँग परिचित छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानलाई पराजित गरेका पौडेलले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा डा. बाबुराम भट्टराईलाई पराजित गरेका थिए ।

त्यस्तै २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गर्दै पौडेलले जितको ह्याट्रिक गरेका थिए ।

संसदीय राजनीतिमा मात्र होइन विष्णु पौडेल कम्युनिष्ट राजनीतिमा चिनिएको नाम हो । स्याङ्जा पुतलीबजार नगरपालिका १० राङखोलामा २०१६ साल मंसिर १८ गते जन्मिएका पौडेलले पुतलीबजारकै मातृभूमि माध्यमिक विद्यालयबाट पौडेलले एसएलसी पास गरेका थिए। एसएलसी पास गरेपछि राङखोलाकै चक्र कमला प्राथमिक विद्यालयमा पाँच महिना अध्यापन गराएका पौडेल २०३२ सालतिर रूपन्देही झरेका थिए ।

रूपन्देही झरेको तीन-चार वर्षपछि स्याङजाको जग्गा बेचेर बुटवलकै स्थायी बासिन्दा भएका पौडेल पञ्चायतकालको दबदबाका बेला भूमिगत राजनीतिमा सक्रिय रहे।

२०४८ सालको चुनावताका संगठन विस्तारका लागि पाल्पामा सक्रिय रहेका उनी २०५१ सालको मध्यावधि चुनावमा पाल्पाबाटै विजयी भएका थिए । तर, २०५६ सालमा बुटवलमा नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए । त्यसपछिका निर्वाचनमा भने पौडेलले पराजित भएर पछाडि फर्किनुपरेको छैन ।

पौडेलको पार्टीमा संलग्नता

२०३२ सालमा रूपन्देही आएलगत्तै कम्युनिस्ट पार्टी स्थापनामा लागेका पौडेल २०३३ सालमा अल नेपाल कम्युनिष्ट रिभोलुसनरी कोअर्डिनेसन कमिटी मास्क–लेनिन स्थापनामा सक्रिय रहे भने २०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

भूमिगत हुँदै २०३५ सालमा मालेको रूपन्देही क्षेत्रीय समिति सदस्य बनेका पौडेल २०३६ सालमा तत्कालीन नेकपा मालेको रूपन्देही जिल्ला सदस्य रहेका थिए। भूमिगत रहेकै अवस्थामा २०३६ सालमा पक्राउ परेका पौडेल दुई महिनामै भैरहवा कारागार ‘ब्रेक’ गरेर पुनः भूमिगत राजनीतिमा फर्किएका थिए ।

२०३६ देखि २०३९ सम्म मालेकै पाल्पा जिल्ला सदस्य भएका पौडेल २०३९ सालदेखि २०४६ सम्म अर्घाखाँची, पाल्पा र रूपन्देही जिल्ला कमिटी सचिव र मालेको दक्षिण-पश्चिम क्षेत्रीय सदस्य भए । २०४५ सालमा कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बनेका थिए ।

बहुदल स्थापनापछि कम्युनिष्ट पार्टी र मालेबीच एकता भएर नेकपा एमाले गठन भएपछि राष्ट्रिय परिषद् सदस्य, २०४६ सालदेखि २०४९ सम्म एमालेको महाकाली अञ्चल इञ्चार्ज बनेका थिए ।

२०४९ देखि २०७२ सम्मका विभिन्न अवधिमा एमालेको लुम्बिनी अञ्चल इञ्चार्ज भएका पौडेल २०५१ देखि २०६० सम्म संगठन विभाग प्रमुख भएर काम गरेका थिए भने २०५२ सालमा उद्योग विभाग प्रमुख रहे । २०४७ सालमा एमाले गठन हुँदै केन्द्रीय सदस्य भएका पौडेल २०४९ सालको पाँचौं राष्ट्रिय सम्मेलन र २०५४ सालको छैठौं महाधिवेशनबाट पनि केन्द्रीय सदस्य निर्वाचित भए ।

२०५४ मा एमालेको स्थानीय विकास विभाग प्रमुख, २०५५ देखि २०६० सम्म एमाले केन्द्रीय कार्यालय सचिव र २०६५ सालमा एमाले पश्चिम विकास क्षेत्रको प्रमुख भएका पौडेल २०६५ सालको आठौं महाधिवेशनबाट पार्टी सचिव निर्वाचित भए ।

२०६७ देखि २०६९ सम्म एमाले केन्द्रीय सचिवालय सदस्य भएका पौडेल २०७१ सालमा नवौं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव र २०७४ सालमा नेकपाकालमा महासचिव भए । २०७८ सालमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट भने उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

सरकारमा पौडेलको संलग्नता

पार्टी संचालनमा मात्र होइन सत्ता सञ्चालनमा पनि उत्तिकै माहिर पौडेल हालसम्मका ५ वटा सरकारमा मन्त्री भइसकेका छन् ।

पहिलोपल्ट २०५४ सालमा पहिलोपटक मन्त्री हुँदा युवा तथा खेलकुद मन्त्रालय सम्हालेका पौडेल २०६५ सालमा जलस्रोतमन्त्री र २०६७ सालमा रक्षा मन्त्री भएका थिए। संविधान जारी भएपछि २०७२ सालमा बनेको केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका पौडेललाई ओलीले २०७८ सालमा पुनः उपप्रधान, अर्थ तथा गृहमन्त्रीसमेत बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर