अफगानिस्तानको संकट पन्छाएर सेमिफाइनल पुग्ने अस्ट्रेलियाको आशा कायम – Nepal Press

अफगानिस्तानको संकट पन्छाएर सेमिफाइनल पुग्ने अस्ट्रेलियाको आशा कायम

मेलबर्न । सुपर- १२ को आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । अस्ट्रेलियाले शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ४ रनले पराजित गर्‍यो ।

१६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन जोड्यो ।

१२ ओभरमा २ विकेट गुमाएर ९६ रन जोड्दै बलियो स्थितिमा देखिएको अफगानिस्तानलाई एकाएक कमजोर बनाउन अस्ट्रेलियाका जोस हेजलउड र एडम जाम्पाले २-२ विकेट लिए । केन रिचार्डसनले पनि एक विकेट हात पारे ।

३९ रन बनाएका गुल्बादिन नाइब १४ औं ओभरको पहिलो बलमा तेस्रो विकेटका रुपमा रन आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो । रसिद खानले २३ बलमा ४८ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि अस्ट्रेलियाको पालीमा ग्लेन म्याक्सवेलले ३२ बलमा ५४ र मिचेल मार्सले ३० बलमा ४२ रन बनाए । डेभिड वार्नरले र मार्कस स्टोइनिसले समान २५ रन जोडे ।

५ खेलबाट ७ अंक भएको अस्ट्रेलिया समूह १ को दोस्रो स्थानमा छ । ५ खेलबाट ७ अंक नै भएको न्युजिल्यान्ड रनरेटकाे आधारमा शीर्षस्थानमा छ । चार खेलबाट इङ्ल्यान्डको ५ र श्रीलंकाको ४ अंक छ । अस्ट्रेलियाको जीतले एसिया कप विजेता श्रीलंका सुपर १२ बाटै बाहिरिने पक्का भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर