उद्योग परिसंघसँग-आईएमएफ भेट: अर्थतन्त्र सुधारका उपायको खोजी – Nepal Press

उद्योग परिसंघसँग-आईएमएफ भेट: अर्थतन्त्र सुधारका उपायको खोजी

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजबीच नेपाली अर्थतन्त्रका विषयमा छलफल भएको छ ।

परिसंघ सचिवालयमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरूले भोगेका समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा छलफल भएको हो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले लगानीयोग्य रकमको अभाव, उच्च ब्याजदर, कम पुँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालुपुँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा निकै कमी आएको बताए । उनले मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको जानकारी दिए ।

अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रको आत्मबल बढाउने खालको नीतिगत व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । एकैपटक सबै सुधारका उपकरणहरू लागू गर्दा अर्थतन्त्रमा थप समस्या बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने धारणा थियो ।

आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिड १९ को असरबाट विस्तारै बाहिर आउने क्रममै रसिया युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताए । यद्यपि उनले विभिन्न चुनौती रहेपनि एसियाको अर्थतन्त्र तुलनात्मक रुपमा राम्रो रहेको जानकारी दिए ।

नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय निकै सकारात्मक रहेको भन्दै आगामी दिनमा त्यसले नेपाललाई फाइदा गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *