आम निर्वाचन : मतपत्र छपाइ सकियो – Nepal Press

आम निर्वाचन : मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य सकिएको छ । यसपटक मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगी कायम हुने मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ४ करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड गरी करिब ८ करोड मतपत्र छपाइ गरिएको आयोगका सहायक प्रवक्ता एवम् उपसचिव ऋषीराम भुसालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ ।

हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ । यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लाको मतपत्र ढुवानी गरिएको सहायक प्रवक्ता भुसालले बताए । उनका अनुसार गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ ।

शुक्रबार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइ कार्यबारे स्थलगत जानकारी पनि लिएका छन् । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर