यामलालका २८ बुँदे घाेषणापत्र : प्राथमिकतामा विमानस्थल विस्तारदेखि आधुनिक सहर – Nepal Press

यामलालका २८ बुँदे घाेषणापत्र : प्राथमिकतामा विमानस्थल विस्तारदेखि आधुनिक सहर

सुर्खेत । नेकपा एमालेका स्थानीय कमिटी सदस्य, कर्णाली इन्चार्ज तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (१) का उम्मेदवार यामलाल कँडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

शुक्रबार आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै कँडेलले वीरेन्द्रनगरलाई सुरक्षित र आधुनिक सहरका रुपमा विकास गर्न उम्मेदवारी दिएको बताएका छन्।

कँडेलले ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार’ र सुशासनका पहरेदार, विकासका योजनाकार कर्णाली आशा, सुर्खेतको भरोसा भन्ने मुल नाराका साथ २८ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।

उनले संविधानको मार्गदर्शन, क्षेत्राधिकार र कर्णाली प्रदेशको आवश्यकता तथा विद्यमान अवस्थालाई मध्यनजर गर्दै जनपक्षीय कानुन निर्माण गरी कार्यान्वयन गर्न पहल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक विकास गरिने, सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लाहरूमा उडानको लागि आवश्यक व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै, वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माणलाई पूर्णता दिइने, वीरेन्द्रनगरमा प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल गर्ने, वीरेन्द्रनगरमा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरबासीको हित अनुकूल प्रयोग नीति बनाइने, वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि गुरुयोजनाको पुनरावलोकन गरी कार्यान्वयनमा जोड दिइने, घुस्रा, रहरपुर, पसेनी हुँदै निकास खोलासम्म हुने डुबानलाई समाधान गर्न खोर्के, इत्राम र नेवारे खोलाहरूको मुहानदेखि निकाससम्म तटबन्धन तथा संरक्षणको व्यवस्था मिलाइने छ ।

यस्तै, उपत्यकाकाको खानेपानी संकटको दीर्घकालीन समाधानका लागि पहल गरिनेछ । त्यसका लागि प्रस्तावित भेरी पम्पिन आयोजना समयमा सम्पन्न गर्न जोड दिने, निर्माणधीन प्रादेशिक रंगशालालाई समयमै सम्पन्न गर्न पहल गर्दै अन्य खेल पूर्वाधारको विकास गरिनेछ सरकारी कार्यालय रहेको क्षेत्रलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र (मिनी सिंहदरबार) का रूपमा विकास गरिने, काँक्रेविहार, देउतीबज्यै, बुलबुले, शहिदपार्क, घण्टाघर, सत्यकाँडा, सिद्धपाइला, रानीघाट र गढीलगायत स्थलहरूलाई विशेष पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्न पहल गरिने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

कँडेलले आफ्ना चुनावी प्रतिबद्धतामा १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजनालाई समयमै सम्पन्न गर्न पहल गरी हाल देखिएको समस्यालाई समाधान गरिने उल्लेख गरेका छन् ।

कोहलपुर–सुर्खेत सडकखण्डलाई ’फोरलेन’ को रूपमा स्तरोन्नति, मूलपारी रानीघाट–तेलपानी–भुरीगाउँ सडक निर्माण गर्नुका साथै बामेखोला–भेरीपुल निर्माणाधीन सडकको स्तरोन्नतिमा जोड दिइनेछ सुब्बाकुनादेखि कोलडाँडासम्म उपत्यकाको बीच भागमा हटलाइन सडक निर्माणका लागि पहल गर्ने जनाएका छन् ।

साथै वीरेन्द्रनगरको ट्राफिक समस्याको समाधान गर्न जोड दिइनेछ सुर्खेत विमानस्थल जाने इत्रामखोला, देउतीबज्यै मन्दिर जाने नेवारेखोला, वीरेन्द्रचोकदेखि यरीचोकसम्म जाने खोर्केखोला र पर्सेनी खोलामा पुल तथा कल्भर्टहरू निर्माण गरिने, प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न पहल गरिने र सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाइनेछ । वीरेन्द्रनगरमा अत्याधुनिक विधि विज्ञान प्रयोगशाला स्थापनाका लागि पहल गरिने उनले जारी गरेका प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर