दक्षिण अमेरिका र युरोपले खोसाखोस गरेको फुटबलको विश्वकप यसपटक कसले उचाल्ला ? – Nepal Press
विश्वकप फुटबल

दक्षिण अमेरिका र युरोपले खोसाखोस गरेको फुटबलको विश्वकप यसपटक कसले उचाल्ला ?

लन्डन । विश्वकप फुटबल सुरु भएको ७६ वर्षसम्म युरोपले घरबाहिर आयोजित प्रतियोगिताको उपाधि जित्न सकेको थिएन । अझ भनौं, दक्षिण अमेरिकाले युरोपलाई घरबाहिर उपाधि जित्न दिएको थिएन । यो क्रम सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपमा आएर तोडियो ।

त्यसवेला उपाधि विजेताको टुंगो नलाग्दै युरोपले उपाधि लैजाने पक्का भएको थियो । त्यसअघि युरोप बाहिर आयोजित सबै विश्वकपको उपाधि दक्षिण अमेरिकी टोलीले मात्र जित्दै आएका थिए । युरोपमै आयोजना भएका विश्वकप दक्षिण अमेरिकाले दुईपटक जितेको थियो । युरोपेली टोलीले घरेलु महादेशमा आयोजित विश्वकप ९ पटक जितेको छ ।

यस वेला दक्षिण अमेरिकी टोलीहरु सेमिफाइनलभन्दा अगाडि बढ्न सकेका थिएनन् । दक्षिण अमेरकी टोलीका रुपमा उरुग्वेमात्र सेमिफाइनल पुगेको थियो । उरुग्वेलाई ३-२ गोलले हराएर नेदरल्यान्ड्स फाइनल पुगेको थियो । यही नतिजाले हो, युरोपले घर बाहिर आयोजना भएको विश्वकप पहिलोपटक जितेको ।

फाइनलमा नेदरल्यान्ड्सलाई १-० गोलले हराएर स्पेन युरोप बाहिर आयोजित विश्वकप जित्ने पहिलो युरोपेली टोली बन्यो । स्पेनले यो पहिलोपटक विश्वकप जितेको हो । त्यस संस्करणमा दक्षिण अमेरिकी टोलीहरु ब्राजिल र अर्जेन्टिना क्वार्टरफाइनलबाटै बाहिरिएका थिए । नेदरल्यान्ड्सले ब्राजिललाई २-१ र जर्मनीले अर्जेन्टिनालाई ४-० गोलले हराएको थियो ।

विश्व फुटबलमा दक्षिण अमेरिकामाथि युरोपको यो पहिलो बलियो प्रहार थियो, पहिलोपटक गैरयुरोपेली भूमिमा विश्वकप जितेकाले । सन् २०१४ को विश्वकप दक्षिण अमेरिकामै आयोजना भएको थियो । विश्व फुटबलको सर्वाधिक सफल ब्राजिल आयोजक रहेको थियो ।

तर, ब्राजिल फाइनल पुग्न सकेन । युरोपेली जर्मनी र दक्षिण अमेरिकी अर्जेन्टिना फाइनल पुगे । घरेलु महादेशमा आयोजित विश्वकप जितेर दक्षिण अमेरिकाको प्रतिष्ठा जोगाउनुपर्ने चुनौती अर्जेन्टिनालाई आइपरेको थियो । जर्मनीले सेमिफाइनलमा घरेलु टोली ब्राजिललाई ७-१ गोलले हराएर अर्जेन्टिनामाथि पनि धावा बोलेको थियो । ब्राजिलको उक्त हारमा धेरैवटा खराब कीर्तिमान थिए ।

त्यसअघि दक्षिण अमेरिकामा आयोजित विश्वकपमा युरोपेली टोली तीनपटक फाइनलसम्म पुगेको थियो । सन् १९५० मा स्वीडेन, सन् १९६२ मा चेकोस्लोभाकिया र सन् १९७८ मा नेदरल्यान्ड्स फाइनलसम्म पुगेका थिए । तर, उपाधि जित्न सकेनन् । जर्मनीसामु त्यो अधुरो युरोपेली सपना पूरा गर्ने अवसर थियो । नभन्दै सफल भइछाड्यो जर्मनी ।

प्रतिस्पर्धात्मक फाइनल भिडन्तको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि अतिरिक्त समयस्वरुप ३० मिनेट थपिएको खेल सकिन लाग्दा जर्मनीका मारियो गोट्जेले गोल गर्दै अर्जेन्टिना र दक्षिण अमेरिकालाई निराश बनाएका थिए ।

त्यसयता पछिल्लो विश्वकप युरोपमा आयोजना भएको थियो । सन् २०१८ मा रुसमा आयोजित विश्वकपको उपाधि युरोपले बाहिर जान दिएन । दक्षिण अमेरिकी टोलीहरु सेमिफाइनलसम्म पनि पुग्न सकेनन् । ब्राजिल क्वार्टरफाइनल तथा अर्जेन्टिना र उरुग्वे प्रि-क्वार्टरफाइनलबाटै बाहिरिएका थिए । दक्षिण अमेरिकाले विश्वकपको उपाधि नजितेको २० वर्ष भइसकेको छ । युरोपका घरेलु लिग फुटबललाई दक्षिण अमेरिकी खेलाडीले उचाइमा पुर्‍याए पनि उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा घरेलु महादेशको बर्चस्व भने गुमाउँदै गएका छन् ।

आगामी महिना कतारमा हुने विश्वकप दक्षिण अमेरिकालाई पुनरागमन गर्ने अर्को अवसर बन्नसक्छ । त्यसका लागि अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेमार दक्षिण अमेरिकाका भरोसा हुन् । यता आफ्नो बर्चस्वलाई कायम राख्न फ्रान्सका केलियन एमबाप्पे, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीहरुमाथि युरोपले आशा राखेको छ ।

विश्वकप हालसम्म युरोप र दक्षिण अमेरिकाबाहेकले जित्न सकेका छैनन् । युरोपले १२ पटक र दक्षिण अमेरिकाले ९ पटक उपाधि हात पारेको छ । सर्वाधिक ५ पटक उपाधि जित्ने टोलीका रुपमा ब्राजिलको कीर्तिमान बराबरी गर्न जर्मनीलाई अब एकपटक उपाधि जिते पुग्छ । चारपटक उपाधि जितेको अर्काे युरोपेली टोली इटाली भने यसपटक छनोट हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *