कर्णालीमा सत्ता गठबन्धनको टाउको दुखाइ बन्दै एकीकृत समाजवादीका बागी उम्मेदवार – Nepal Press

कर्णालीमा सत्ता गठबन्धनको टाउको दुखाइ बन्दै एकीकृत समाजवादीका बागी उम्मेदवार

सुर्खेत । गत असोज ६ गते सुर्खेतको वीरेन्द्रनगरमा पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलामा शीर्ष नेताहरुले गठबन्धनबीच एकता रहेको सन्देश दिए । नेताहरुको भनाइअनुसार गठबन्धनभित्र कुनै समस्या छैन ।

भागबन्डामा असन्तुष्ट बनेर गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका व्यक्तिहरुलाई मनोनयन फिर्ता लिनसमेत नेताहरुले आग्रह गरेका थिए । टिकट नपाएर असन्तुष्ट भएकाहरुलाई कुनै न कुनै ठाउँमा अवसर दिने शीर्ष नेताहरुले आश्वासन दिएका थिए ।

सत्ता गठबन्धनले केन्द्रमा भागबन्डा गरे पनि जिल्लास्तरमा नेकपा एकीकृत समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा छुट्टै आफ्नो उम्मेदवार उठाएको छ । जसले गठबन्धनभित्रै अन्योल छाएको छ । प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा वा प्रदेशसभामा भाग खोजेको एकीकृत समाजवादीले भाग नपाएपछि उम्मेदवार अगाडि सारेको हो ।

कर्णालीमा एकीकृत समाजवादीले १२ प्रतिनिधिसभामध्ये तीन क्षेत्र सल्यान, डोल्पा र दैलेख १ तथा प्रदेशसभातर्फ २४ मध्ये दुई क्षेत्र मुगु (१) र जुम्ला (२) पाएको छ । भागबन्डामा नपरेपछि असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीले पार्टीको जनमत र लोकप्रियताको आधारमा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको हो ।

यसले कर्णालीका केही प्रदेशसभामा गठबन्धन दलहरुभित्रै चुनावी प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धाले आफ्नो आधिकारिक उम्मेदवार पराजित हुने डर गठबन्धन दलमा बढेको छ ।

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतका चार प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार छन् । सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (१) र (२) मा एकीकृत समाजवादीका नेताहरुले दलबाट आधिकारिक टिकट लिएर चुनावी प्रचारलाई व्यापक बनाएका छन् ।

भागबन्डामा प्रदेशसभा २ (१) कांग्रेस र २ (२) नेकपा माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनका तर्फबाट (१) मा कांग्रेसका कालीप्रसाद शाक्य र (२) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार छन् ।

एकीकृत समाजवादीले (१) मा पार्टीमा विद्रोही नेताको छवि बनाएका जिल्ला इन्चार्ज शिवप्रसाद उपाध्याय र (२) मा जिल्ला अध्यक्ष मोहनसिंह बडुवाललाई गठबन्धनविरुद्ध उम्मेदवार बनाएको छ । सुर्खेतमा संगठन कमजोर भए पनि लोकप्रियताको आधारमा छुट्टै उम्मेदवारी दिएको अध्यक्ष बडुवाल बताउँछन् । ‘गठबन्धनको निर्णय एकातिर छ, हामीसँग जनताको साथ छ’, उनले भने, ‘हामीले पार्टीलाई उम्मेदवारको टुङ्गो लगाएर पठाएका थियौं, उताबाट लड्नुस् भनेर आधिकारिक टिकट आएपछि उम्मेदवारी दिएका हौं ।’

बडुवाल व्यक्तिगत रुपमा लोकप्रिय मानिन्छन् । उनलाई सांगठनिक भोट भन्दा एमाले र कांग्रेसले साथ दिन सक्ने अड्कल गरिएको छ ।

कर्णालीका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला कालीकोटमा पनि गठबन्धनविरुद्ध उम्मेदवारी परेको छ । भागबन्डाअनुसार प्रदेशसभा (१) मा माओवादीका दुर्गबहादुर रावत र प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट गठबन्धनका आधिकारिक उम्मेदवार छन् । विष्टको प्रतिस्पर्धी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बम बनेका छन् । गठबन्धनको आधिकारिक उम्मेदवारलाई समर्थन गरेको बताउने बम पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा होमिसकेकाले पछाडि नहट्ने बताउँछन् ।

यस्तै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा पनि नेकपा (एस) बाट गठबन्धनविरुद्ध उम्मेदवार छ । हुम्लाको (१) मा माओवादी र (२) मा कांग्रेसले पाउने गरी गठबन्धनमा सहमति भएको थियो । प्रदेश (१) मा माओवादी केन्द्रका रनसिंह परियार गठबन्धनले उठाएका उम्मेदवार हुन् । परिवारविरुद्ध एकीकृत समाजवादीले हस्तबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य शाही गठबन्धन गर्न मुख्य भूमिका खेल्ने दलमाथि नै प्रहार भएपछि मित्रवत प्रतिस्पर्धा गर्नु परेको बताउँछन् । ‘राजनीतिक फाटो आएको समयमा गठबन्धनको बिजारोपण गराउने हाम्रो दललाई नै पाखा लगाउने काम भएपछि यो अवस्था आएको हो’, उनले भने, ‘हामीले यहाँ पार्टीको जनमतको आधारमा निर्णय गरी पठाएपछि दलले हामीलाई चुनाव लड्न सहमति दिएको हो ।’

पहिला फकाउने, नमाने निष्क्रिय पारिने

गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी मनोनयन यति वेला गठबन्धनमा टाउको दुखाइको विषय बनेको छ । बुधबार सुर्खेतमा गठबन्धन दलहरुको निर्वाचन परिचालन तथा अनुगमन समन्वय समितिको बैठकमा बागी उम्मेदवारी सम्बन्धमा बृहत समीक्षा गरिएको छ । समीक्षामा बागी उम्मेदवारी दिएकाहरुलाई सहमतिमा ल्याउने वा उम्मेदवारी निष्क्रिय पार्नेबारे छलफल भएको नेकपा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

समितिकी संयोजकसमेत रहेकी केसीले भनिन्, ‘केन्द्रीय गठबन्धन संयन्त्रलाई बागी उम्मेदवारको विषयमा तत्काल निर्णय लिन अनुरोध गरेका छौं ।’

गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दिएकालाई सकेसम्म आधिकारिक उम्मेदवारलाई समर्थन गर्न लगाइने अन्यथा पार्टीबाट कारबाही गरेर उम्मेदवारी स्वत निष्क्रिय हुने गरी अगाडि बढ्ने सहमति भएको केसीको भनाइ छ । यसो गर्दा उम्मेदवारलाई पार्टीबाट कुनै सहयोग नहुने र बागीलाई सहयोग गर्ने पार्टी कार्यकर्तालाई समेत कारबाही हुने संयोजक केसी बताउँछिन् ।

कर्णालीमा गठबन्धन दलहरुभित्रका आन्तरिक रुष्टताको समाधान र गठबन्धनको मर्मअनुसार साझा अपिल सार्वजनिक गर्ने निर्णयसमेत भएको केसीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर