प्रचण्डविरुद्ध उठेका गोरखा कांग्रेसका ‘शताब्दी पुरुष’- सयौं जन्मदिनमा एमालेका अब्दुसलाई समर्थन (भिडिओ) – Nepal Press

प्रचण्डविरुद्ध उठेका गोरखा कांग्रेसका ‘शताब्दी पुरुष’- सयौं जन्मदिनमा एमालेका अब्दुसलाई समर्थन (भिडिओ)

गोरखा । २०७२ सालको महाभुकम्पको इपिसेन्टर गोरखा यसपटक माओवादी अध्यक्ष प्रचण्डको उम्मेदवारीसँगै चुनावी इपिसेन्टर पनि बनेको छ । यहि इपिसेन्टरका एक चर्चित पात्र हुन् गोरखा कांग्रेसका ‘शताव्दीपुरुष’ टिकादत्त पोखरेल ।

माओवादी अध्यक्ष प्रचण्डलाई पार्टीले समर्थन गरेपछि करीव ८० वर्ष आफू संलग्न रहेको पार्टी नेपाली कांग्रेस छाडेर विपी कांग्रेसबाट उम्मेदवार बनेका पोखरेलले कात्तिक १५ गते आफ्नो सयौं वर्ष प्रवेशको जन्मदिन मनाए ।

तीन छोरा र ४ छोरीका पिता टिकादत्तका चार पुस्ताका नाति नातिनाहरुसमेत ५० जनाभन्दा बढी सदस्यले उनको सयौं जन्मदिन मनाइदिएका थिए । सय वर्ष प्रवेशको जन्मदिन मनाएलगत्तै पोखरेलले आफ्नो उम्मेदवारी प्रचण्डविरुद्ध एमालेले खडा गरेका पनाति उमेरका अब्दुस मियालाई समर्थन गर्दै निष्क्रिय बनाएको घोषणा गरे ।

पोखरेल राणा शासनको बेला सेनामा जागिरे थिए । २००७ सालको क्रान्तिमा सेनाबाट विद्रोह गरेर उनी नेपाली कांग्रेसले गठन गरेको मुक्ति सेनामा लागेका थिए । आफूले ८० वर्षभन्दा बढी समय काम गरेको पार्टी छाडेर पोखरेलले सय वर्ष पुगेपछि प्रचण्डविरुद्ध एमालेलाई समर्थन गरेको बताए ।

पोखरेलले गोरखाको विकासका लागि मियाँलाई साथ दिनुपर्ने बताउँदै आफूले उम्मेदवारी निष्क्रिय गर्ने बताए । आफू धेरै हिडडुल गर्न नसक्ने भएकाले कांग्रेस जोगाउँनमात्र दिएको उम्मेदवारी मियाका लागि निष्क्रिय बनाएको बताए ।

‘छोरालाई साथ दिन्छु, मेरो साथ रहनेछ, तपाईं काम गर्नुस्,’ मियाँलाई पोखरेलले जन्मदिनकै दिन भनेका थिए ।पोखरेलको जन्मदिनमा मियाँले छोप्राकस्थित घरमै पुगेर भेटेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराउन एमालेका मियाँलाई सहयोग गर्ने बताएका हुन् । प्रचण्ड ठाउँ सरेर गोरखामा लड्न आएकाले उनलाई हराउनुपर्ने पोखरेलको भनाइ छ । चुनाव जित्न अरु ठाउँमा गाह्रो पर्ने देखेर प्रचण्ड गोरखा आएको पोखरेलले बताए ।

‘प्रचण्डलाई जसरी हुन्छ, हराउनुपर्छ । कहाँ हो कहाँको व्यक्ति आएर चुनाव लडेर यहाँको विकास कसरी हुन्छ रु’ उनले भने, ‘चुनाव लड्न कहीँ सकिँदैन भनेर यहाँ आएका हुन् । भेडा बाख्रा पशु सोचेर जित्छु भनेर आएका छन्, हामी भेंडाले नंग्याएर पठाउन सक्नुपर्छ ।’

मियाँले गोरखाको विकासका लागि पोखरेलसँग सहकार्य गर्न तयार रहेको बताए । गोरखाको नेतृत्व गोरखाले नै गर्नुपर्ने भन्दै मियाँले पोखरेलको साथ आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर