भारत सरकारले दियो निर्वाचन आयोगलाई ८० वटा सवारी साधन – Nepal Press

भारत सरकारले दियो निर्वाचन आयोगलाई ८० वटा सवारी साधन

काठमाडौ । भारत सरकारले निर्वाचन आयोगले ८० वटा सवारी साधन हस्तान्तरण गरेको छ । आगामी मंसर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि भारत सरकारले उपहार स्वरुप स्करपियो गाडीको साँचो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका हुन् ।

सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद दिएका छन् । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए ।

आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै थपलियाले भारत सरकारले विभिन्न समयमा दिएको सवारी साधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागिसमेत धन्यवाद दिए ।

समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताए ।

नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । भारत सरकारबाट प्राप्त सहयोगले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम पौडेलले बताए ।

उनले यसअघिका निर्वाचनमा पनि भारत सरकारले सहयोग गर्दै आएकोसमेत बताए । साँचो हस्तान्तरण समारोहमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर