मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै र स्थानीय जनप्रतिनिधिले पालिकाबाहिर मात्रै चुनाव प्रचार गर्न पाउने – Nepal Press

मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै र स्थानीय जनप्रतिनिधिले पालिकाबाहिर मात्रै चुनाव प्रचार गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले संघीय सरकार र प्रदेश सरकारका मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै र स्थानीय तहका कार्यपालिकाका पदाधिकारीलाई आफ्नो पालिका भन्दा बाहिर मात्रै प्रचारप्रसार गर्न आग्रह गरेको छ । आयोगले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअनुसार यस्तो आग्रह गरेको हो ।

आगामी निर्वाचन आचारसंहिता, २०७९ आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचार प्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।

संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफ्नो क्षेत्रमा निर्वाचन प्रचार प्रसारमा संलग्न हुन सक्ने र त्यसरी प्रचार प्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार ती व्यवस्थाको पालना गर्न तथा गर्न लगाउन निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकारका मन्त्रीलाई तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मन्त्रीलाई निर्देशन दिइसकेको छ ।

आचारसंहितामा नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन र प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत वा सोझै आयोगको सहमति लिई त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने व्यवस्था रहेको छ ।

आचारसंहिताबमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले भने आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने प्रवक्ता पौडेलले बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर