सम्राट सापकोटा : फिल्ममा राजेश हमालको साथ, राजनीतिमा रमेश खरेलको हात – Nepal Press

सम्राट सापकोटा : फिल्ममा राजेश हमालको साथ, राजनीतिमा रमेश खरेलको हात

काठमाडौं । अभिनेता सम्राट सापकोटा अहिले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेशसभा १ का उम्मेदवारको रुपमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् । आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेका सापकोटा पूर्वडीआईजी रमेश खरेलको पार्टी नेपाल सुशासन पार्टीका आधिकारिक उम्मेदवार हुन् ।

विगत साढे तीन दशकदेखि कलाकारितामा सक्रिय सापकोटा आफ्नो उम्मेदवारी जनताको अपेक्षा र चाहनाअनुसार नै भएको र जीत निश्चित भएको बताउँछन् । मतदाताहरु पुराना राजनीतिक पार्टी र तिनका उम्मेदवारसँग फ्रस्टेड भएको र विकल्प खोजिरहेको सापकोटाको दाबी छ ।

उनी भन्छन्, ‘म घरदैलोमा जाँदा के महसुस गरेको छु भने पुराना पार्टीका निरन्तरजसो दोहोरिने उम्मेदवारबाट आजित भएका छन् मतदाता । उनीहरु विकल्प खोजिरहेका छन् । त्यसकारणले पनि प्रदेशसभा १ मा मेरो उम्मेदवारीको अर्थ छ ।’

२०५५ सालतिर ‘राजकुमार’, ‘प्रतीक्षा’, ‘कर्णवीर’ जस्ता चलचित्रबाट अभिनय यात्रा सुरु गरेका सापकोटाले तीन दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् । अभिनेत्री पूजा चन्द, करिश्मा मानन्धर, अभिनेता धिरेन शाक्य, राजेश हमाललगायत कलाकारसँग चलचित्रमा अभिनय गरेका सापकोटा यसपटक भने रजतपटक छाडेर राजनीतिको मैदानमा होमिएका छन् ।

अन्तिमपटक २०७६ सालमा अभिनेता अनुपविक्रम शाहीलाई लिएर ‘कप्स’ चलचित्र निर्देशन गरेका सापकोटा त्यसयताको तीन वर्षको समय भने जनताको सेवामा समर्पित गरेको बताउँछन् । साढे तीन दशकको कलाकारिता यात्रालाई केही विश्राम दिँदै राजनीतिमा होमिएका सापकोटा भन्छन्, ‘हाम्रो राजनीति दयनीय, विकृत, विसंगत र नाजुक अवस्थामा देखिन्छ । अहिलेका ठूला भनिएका पार्टीहरुबाट अपेक्षा गर्न सकिने लेस संकेत पनि छैन । त्यसैले मैले राजनीतिमा खुट्टा राखेको हुँ ।’

सापकोटा खरेलको पार्टीबाट चुनावमा होमिनुको कारण खुलाउँछन्, ‘उहाँ जेन्युइन मान्छे हो । उहाँ निष्पक्ष र निर्भय रहेर प्रहरी संगठनमा काम गरेको मान्छे हो । उहाँको व्यक्तित्वबाट प्रभावित भएर चुनावमा उहाँसँग सहकार्य गरेको हो ।’

रंगमञ्चदेखि कलाकारिता सुरु गरेका कलाकार हुन् सापकोटा । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको गुरुकुलमा दीक्षित सापकोटाले अनगिन्ती नाटक पनि गरेका छन् । तर, अहिले आएर चुनावी प्रतिस्पर्धामा होमिनुको सापकोटाको आफ्नै तर्क छ, ‘विगतमा नेपाली जनतामाथि लुटतन्त्रको काममात्रै भए । राज्यको ढुकुटी सिध्याउने काममात्रै भए । त्यसकै विरुद्धमा रंगमञ्च र रजतपट छाडेर राजनीतिमा आएको हुँ ।’

तर, आफ्नो उम्मेदवारी पछिल्लो समय देखिएको स्वतन्त्रको लहडजस्तो नभएको सापकोटाको भनाइ छ । आफू २०४६ सालको जनआन्दोलनमा सहभागी भएको, त्यसवेलाको परिस्थितिले राजनीतिक चेत थपेको र अहिले आएर त्यो चेतलाई ठोस अवस्थामा रुपान्तरण गर्न प्रत्यक्ष राजनीतिमा होमिएको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर