ब्याजदरमा अझै चाप पर्छ : राष्ट्र बैंक – Nepal Press

ब्याजदरमा अझै चाप पर्छ : राष्ट्र बैंक

काठमाडौं । बैंकहरुको ब्याजदरमा अझै केही समय चाप पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । ब्याजदर वृद्धिविरुद्ध व्यवसायीहरु आन्दोलित छन् । तर, ब्याजदर वृद्धिको चाप कम नहुने नेपाल राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले एक कार्यक्रममा ब्याजदरको चाप अझै केही समय रहने बताए । ‘अहिले कर्जाको ब्याजदर औसतमा १२ प्रतिशत छ । तर, यो इतिहासकै सबैभन्दा बढी होइन’, उनले भने ।

यसअघि २०७५ असारमा १२.४७ प्रतिशत औसत ब्याजदर थियो । अहिलेको अवस्था क्रेडिट क्रन्च नभएको पनि उनले स्पष्ट पारे । उनले भने, ‘कसैले एटीएमबाट पैसा झिक्न नपाएको अथवा चेक नै नसाटिएको अवस्था छैन । यसकारण अहिलेको अवस्था भनेको ऋणयोग्य रकमको कमी हो ।’

पछिल्लो समय बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । अहिले मुद्दती निक्षेपमै १२.३३ प्रतिशत र कर्जामा झण्डै १८ प्रतिशतसम्म ब्याजदर पुर्‍याइएको छ । तैपनि बैंकहरुमा उल्लेख निक्षेप आउन सकेको छैन ।

नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिलकुमार उपाध्यायले कुनै वेला पैसा बढी भएर घरमै गएर पैसा दिएको तर अहिले लिन आउँदासमेत दिने नभएको बताए । उनले बैंकिङ प्रणालीमा ९८ प्रतिशत १ वर्षको लागि राखिएको निक्षेप रहेको बताए ।

यसरी छोटो समयको निक्षेपले हाइड्रोपावर जस्ता क्षेत्रमा लगानी गर्न समस्या भएको उनको भनाइ छ । ‘कर्जा लिएकाहरु व्यापारिक मोडलमा गए, उत्पादनमा गएनन् । यसकारण लगानीको समस्या आएको हो’, उपाध्यायले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *