स्वतन्त्र पार्टीको नजरमा ठूला दल : सबै एकै हुन्, लोकतान्त्रिक व्यवहार छैन – Nepal Press

स्वतन्त्र पार्टीको नजरमा ठूला दल : सबै एकै हुन्, लोकतान्त्रिक व्यवहार छैन

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला दलहरूमा नातावादमा लिप्त भएको निष्कर्ष निकालेको छ । चुनावी घोषणापत्र (वाचा पत्र) सार्वजनिक गर्दै ठूला दलमा अब्बल र सक्षम व्यक्तिले अवसर नपाउने उक्त पार्टीको टिप्पणी छ ।

स्वतन्त्र पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरूबारे टिप्पणी गरेको छ ।

‘यी दलहरूलाई एकै समूहमा राख्नु उत्तम हुन्छ । त्यसका अतिरिक्त फरक-फरक सिद्धान्त र वादहरू पछ्याउने भनिए पनि व्यवहारतः कुनै पनि दल अर्को दलभन्दा फरक देखिँदैनन् पनि । कार्य, गतिविधि, संरचना, कार्यकर्ता, नेता कसैलाई पनि अलग-अलग राखेर हेर्दा एकबाट अर्को छुट्याउनै सकिँदैन ’, बाचापत्रमा लेखिएको छ ।

लोकतान्त्रिक भनिए पनि ठूला दलहरूमा व्यवहारतः पार्टीभित्र वा सत्ता सञ्चालनमा त्यो पुष्टि भएको नदेखिएको स्वतन्त्र पार्टीको ठहर छ । पार्टी सत्तामा सीमित शिर्ष नेताहरूको नियन्त्रण रहेकाले कार्यकर्ताको आधिकारिकता, राजनैतिक पदहरूमा बहाली र टिकट वितरण लोकतान्त्रिक बन्न नसकेको आरोप लगाइएको छ ।

‘पदीय बाँडफाँट तथा टिकट वितरणमा प्रारम्भिक निर्वाचनजस्तो लोकतान्त्रिक प्रकिया नपछ्याएर चाकडी, दाइले भाइलाई छान्ने अनि भाइले दाइलाई छान्ने जस्तो नातावाद र कृपावादमा आधारित कार्यकर्ताको आधिकारिकता वितरण, राजनैतिक पदहरूमा बहाली र टिकट वितरण भएकाले दलहरूभित्र व्यवहारमा लोकतन्त्रको प्रयोग हुन सकेको छैन’ घोषणापत्रमा उल्लेख छ ।

ठूला दलबाट राज्यसत्ता सञ्चालनले मुलुकको लोकतान्त्रिक व्यवस्था नै जोखिमपूर्ण बनाएको पनि आरोप लगाइएको छ ।

‘अझ पार्टीभित्र लोकतन्त्रमाथि कुठाराघात हुँदा यी पार्टीभित्रका अब्बल र जान्नेहरूलाई सँधै अवसरबाट वञ्चित गराएर पाखा लगाइएको छ । यही कारणले देश स्वार्थ र भ्रष्टाचारको जालोमा फँसेको छ’ घोषणापत्रमा भनिएको छ, ‘यति भएर पनि उचित विकल्पको अभावमा लामो समयसम्म यिनै दलहरू नै रोजाइमा पार्ने मतदाताको संख्या ठूलो थियो तर विगतका कर्तुत तथा स्थानीय निर्वाचनमा देखिएको परिणामले गर्दा यी दलहरूप्रतिको मतदाताहरूको वितृष्णा इतिहासमै सबैभन्दा धेरै छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर