गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयको चार्टर्ड उडान, कुवेत एयरको उडान योजना पेश – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयको चार्टर्ड उडान, कुवेत एयरको उडान योजना पेश

रुपन्देही । शुभारम्भ भएको ६ महिनासम्म जजिराबाहेक अन्य एयरलायन्सले चासो नदेखाएको रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकैपटक तीन सकारात्मक खबर आएका छन् ।

आन्तरिक व्यवस्थापन नभएकाले एयरलायन्स कम्पनीहरुले चासो नदेखाएको समाचार सार्वजनिक भए पनि बिहीबार कुवेत एयरको उडान योजना पेस भएको छ । हिमालयनको चार्टर्ड उडान तथा काठमाडौंको युरेसिया एक्सपोर्ट एण्ड कार्गो कम्पनीले यहाँबाट नेपाली उत्पादन विदेश निकासी सुरु गर्ने भएको हो ।

कुवेतको राष्ट्रिय ध्वजाबाहक कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो ।

गत सोमबारमात्रै उक्त एयरले कुवेत-नेपाल चार्टर उडान सुरु गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार कुवेत-नेपाल दुईतर्फी उडानका लागि करिब दुई महिनाअघि कूटनीतिक प्रक्रिया सुरु भएको थियो ।

कुवेत एयरले चार्टर उडान सुरु गरेको र हाल पर्यटकको यामसँगै अगाडि नै तालिका लिइसकेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार उक्त एयरलाई चार्टर उडानका लागि भैरहवा गन्तव्य कायम गरिने र आउँदो डिसेम्बरबाट उसले भैरहवामै नियमित उडान गर्ने योजना पेस गरेको छ । उडान तालिकाको प्रस्ताव भने आउन बाँकी रहेको बताइएको छ ।

भैरहवाबाट हाल कुवेतकै जजिरा एयरवेजले नियमित उडान गर्दै आएको छ । कुवेत एयरको नियमित उडान सुरु भएसँगै बजार थप प्रतिस्पर्धात्मक हुने प्राधिकरणले जनाएको छ ।

यसअघि अबुधाबीस्थित बिज एयरले आफ्नो उडान मिति तत्कालका लागि स्थगित गरेको थियो । डेढ महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीको संख्या आधा दर्जनभन्दा बढी पुग्ने क्यानले जनाएको छ ।
डिसेम्बर १६ बाटै प्राधिकरणले फ्लाइ दुबई, कतार एयरवेज, एयर अरेबियालगायत वायुसेवालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न निर्देशन दिइसकेको छ ।

हिमालय एयरलाइन्सको चार्टड उडान

हिमालय एयरलाइन्सले बिहीबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हिमालय दुई वटा चार्टड उडान गर्न सहमत भएको छ ।

यसअघि क्यानले आफ्नो ‘विन्टर सेड्युल’ अन्तर्गत नेपाल वायुसेवा निगमले तोकेको मितिबाट भैरहवाबाट उडान नगरेको भन्दै निगमको आइतबारको उडान रद्द गरेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले हिमालय एयरलायन्सको विमानले बिहीबारदेखि भैरहवाबाट पहिलो चार्डड उडान सुरु गरेको जानकारी दिए । ‘काठमाडौं-भैरहवा-क्वालालाम्पुर र भैरहवा-क्लालाम्पुर-काठमाडौं उडानका लागि भैरहवा आएको छ’, उनले भने ।

दाहालका अनुसार अबको एक महिनामा नेपाल वायुसेवा निगमको पनि उडान हुनेछ ।

युरेसियाले विदेश पठायो कार्गो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको युरेसिया एक्सपोर्ट एण्ड कार्गो कम्पनीले नेपाली उत्पादन विदेश निकासी सुरु गरेको छ । यसअघि पहिलोपटक काठमाडौंकै हिमालेक्स ट्रेडर्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत् नेपाली उत्पादन गौतमबुद्ध विमानस्थल हुँदै विदेश निर्यात सुरु गरेको थियो ।

गौतमबुद्धबाट विदेश नेपाली उत्पादन निकासी सुरु गरेको युरेसिया दोस्रो कार्गो कम्पनी हो । युरेसियाले बुधबार विमानस्थलमा आवश्यक सबै प्रक्रिया पूरा गरेर बिहीबार बिहान जजिरा एयरलाइन्समार्फत् दुई टन नेपाली सामान युरोपेली मुलुक पठाउनेछ ।

युरेसियाका निर्देशक रामकुमार थपलियाले युरोपेली मुलुक डेनमार्कमा दुई टन नेपाली ह्याण्डिक्राफ्ट, उलन र कटनको सामान निर्यात गर्न लागिएको बताए । ‘सरकारले लगानी ग¥यो, निजी क्षेत्रले पनि विमानस्थललाई चलायमान बनाउन केही प्रयास गरौं भनेर कार्गो सुरु गरेका हौं’, थपलियाले भने, ‘आज राजस्व तिर्ने, जाँचपासलगायतका सबै काम सकेका छौं । जजिरा एयरलाइन्समार्फत उक्त सामान विदेश जानेछ ।’

पछिल्लो समय विमानस्थल नियमित सञ्चालन नभएको भन्दै आलोचना भइरहेको छ । यहाँबाट व्यवसायीले कार्गो पठाउन सुरु गरेपछि विमानस्थल थप चलायमान हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *