चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान सुरु गर्न एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै – Nepal Press

चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान सुरु गर्न एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम आउँदै

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश आउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आउन लागेका हुन् ।

आज साझ धनगढी पुग्ने र भोली दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । एमालेले भोली दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने उनले जनाए ।

आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेन्डालाई महत्त्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने सङ्केत देखिएको छ ।

‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो’े प्रदेश सचिव पाठकले भने ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपालाई फिर्ता गर्नुपर्छ ।’

पाठकका अनुसार एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने छ ।‘भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको छ’ उनले भने ‘अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ ।’

दार्चुला सदरमुकाम खलंगामा भोली बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । भोली नै दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर