काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई आयोगले तिरायो ५ हजार जरिवाना – Nepal Press

काठमाडौं महानगरका वडाध्यक्ष रिजाललाई आयोगले तिरायो ५ हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । काठमाडौं क्षेत्र नम्बर ७ को प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार सबिन तामाङको प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले रिजाललाई ५ हजार जरिवाना गराउने निर्णय गरेको हो ।

आचारसंहिता उल्लंघन गर्नेलाई जरिवाना गरेको पछिल्लो समय यो नै पहिलो घटना हो । आयोगले रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै कात्तिक २ मा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । वडाध्यक्ष रिजाल कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीको आधारमा स्पष्टीकरण सोधेको थियो ।

आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड–क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ ।

रिजालले आफू प्रचारमा संलग्न नभएको दाबीसहितको स्पष्टीकरण आयोगमा ब’झाएका थिए । रिजालकै फेसबुकमा प्रचारमा संलग्न भएको आधारमा जरिवाना गरिएको आयोगका सहायक प्रवक्ता एवम् उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए । उनी कांग्रेसको उम्मेदवारको पक्षमा प्रचारमा हिँडेको भन्दै आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा –३) बमोजिमको जरिवाना गरेको हो । यो दफामा आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

स्थानीय कार्यापालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर