पार्टीमा संसदवादको रोग यत्रतत्र देखियो, गोरखाबाट पुनः निर्माण गर्छु : प्रचण्ड – Nepal Press

पार्टीमा संसदवादको रोग यत्रतत्र देखियो, गोरखाबाट पुनः निर्माण गर्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट नयाँ क्रान्तिको थालनी हुने बताएका छन् । गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनक्रान्ति अगाडि बढाउने थलोको रुपमा गोरखा रहेको स्मरण गर्दै अब नयाँ अभियानको थालनी गर्ने बताए ।

उनले चुनाव जित्ने र जिताउनेसँग मात्रै सम्बन्धित नभएको भन्दै नेपाली समाजमा देखिएको विकृति र विसंगती तोड्ने कुरासँग सम्बन्धित रहेको बताए । प्रतिगमनतिर लैजान चाहनेहरुको विरुद्ध विजयको नयाँ यात्रा सुरु गर्नेसँग सम्बन्धित भएको भन्दै गोरखाली जनतामाथि भरोसा गरेको बताए ।

यसअघि रोल्पा, काठमाडौं र सिरहाबाट चुनाव लड्दा पनि आफूले चुनाव जित्नका लागि नलडेको स्पष्ट पार्दै उनले भने, ‘चुनाव त जित्नु नै थियो, जितियो पनि । तर मेरो उद्देश्य चुनाव मात्र जित्नु थिएन ।’

अहिले हिमाल पहाड तराई एक ठाउँमा केन्द्रित भएको भन्दै अध्यक्ष प्रचण्डले आफ्नो कदमले महत्वपूर्ण सन्देश दिएको उल्लेख गरे ।

‘जनयुद्ध र जनआन्दोलनलाई एक ठाउँमा केन्द्रित गरेर नयाँ ऐतिहासिक प्रक्रियाको सन्देश दिनु थियो । त्यस्तै, मधेशमा भ्रम छर्ने विग्रह गराउने प्रयासहरु भइरहेको अवस्थामा राष्ट्रिय एकतालाई कमजोर पार्ने खेल चलिरहेको थियो’ उनले भने, ‘परिवर्तनको वाहक हुनुको नाताले मधेसका जनतालाई पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउने हिम्मतका साथ म त्यहाँ पुगेको हुँ ।’

यस पटक गोरखा जानुको कारण पनि राष्ट्रिय एकताको सन्देश दिन र आर्थिक क्रान्तिको सन्देश दिन खोजेको उल्लेख गरे । अहिले संसदवादका रोगहरु यत्रतत्र देखिन थालेको भन्दै पार्टी पुनःनिर्माणको अभियान र यो पाटीलाई क्रान्तिकारी रुपले रुपान्तरण गर्ने उपयुक्त थलोका रुपमा गोरखा रोजेको प्रष्ट्याए ।

 

प्रतिक्रिया

One thought on “पार्टीमा संसदवादको रोग यत्रतत्र देखियो, गोरखाबाट पुनः निर्माण गर्छु : प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर