धनकुटामा तमोर-अरुण करिडोरको एजेण्डासहित हेमराज भण्डारी मैदानमा (भिडिओ) – Nepal Press

धनकुटामा तमोर-अरुण करिडोरको एजेण्डासहित हेमराज भण्डारी मैदानमा (भिडिओ)

'मतदाताले १४ वर्ष पुरानो हँसिया हतौडाभन्दा मेरो माछालाई चाँडै चिने'

इटहरी । नेकपा (माओवादी केन्द्र) त्यागेर धनकुटामा स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी ‘माछा’ चुनाव चिन्ह लिएर मैदानमा छन् । यतिखेर राष्ट्रिय झण्डा बोकेर मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन् उनी ।

पहिलो संविधानसभादेखि पछिल्लो स्थानीय चुनावसम्म गोलाकारभित्रको हँसिया-हतौडाको प्रचारमा हिँडेका हेमराजसहितका धनकुटाका सबै माओवादी नेताले गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै विद्रोह गरेका थिए । माओवादीमा रहँदा भण्डारी पोलिटब्युरो सदस्य थिए ।

१४ वर्ष पुरानो चुनाव चिन्हभन्दा आफ्नो नयाँ चिन्ह ‘माछा’ चाँडै चिनिएको उनले सुनाए ।

नेपाल प्रेससँगको कुराकानीमा उनले भने, ‘सबै उमेर समूहका मतदाताले माछा चिन्ह एकै पटक चिन्न सजिलो हुँदोरहेछ । हँसिया-हतौडा यस्तो सजिलो थिएन ।’

उसो त धनकुटा खोला-नदीहरुकै जिल्ला भन्दा हुन्छ । चीन उद्गमथलो रहेको अरुणदेखि कन्चनजंघा क्षेत्रको पानी बटुलेर आएको तमोर धनकुटा हुँदै बग्छन् । धनकुटा र तेह्रथुमको सीमा भएर बग्ने तेलिया खोलादेखि धनकुटा र पाँचथर सीमाको नावा खोलाले पनि यस जिल्लालाई छुन्छ । लेगुवादेखि लक्ष्मी खोला पनि धनकुटाका चिनिएका खोलामध्येका हुन् । खोला र नदीहरूको ट्रान्जिट धनकुटामा माछा चिनाउन भण्डारीलाई सजिलो भएको छ ।

उनले चुनावी एजेण्डामा पनि नदी क्षेत्रलाई जोडतोडले उठाएका छन् । अरुण करिडोरलाई भण्डारीले अघि सारेका छन् । संविधानसभा सदस्यताका तमोर करिडोरको मुद्दा उठाउँदा कसैले नपत्याएको भण्डारीको मुद्दा अहिले मुलघाट हुँदै पाँचथरसम्म बनेको विशाल तमोर करिडोरको सडकले पत्याउने बनाएको छ । पछिल्लो समयमा उनी अरुण करिडोरको पक्षमा छन् । तमोर करिडोरले लय लिएकोले अबको मुद्दा अरुण करिडोर भएको र त्यसले धनकुटामात्रै नभइ पूर्वी पहाडकै मुहारमा चमक ल्याउने उनको भनाइ छ ।

‘भारत-चीन’ जोड्ने मुख्य दुई सडक यीनै करिडोर हुनेछन्’, उनी भन्छन् ।

धनकुटामा नेपाली कांग्रेसका हेभिवेट नेता सुनिल थापादेखि एमालेका स्थापित नेता राजेन्द्र राई दुवैलाई चुनावी ‘टाउको दु:खाइ’ भएका भण्डारीले तमोर-अरुण करिडोरको मुद्दामा कुराकानी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर