विश्वकपका लागि अर्जेन्टिनी टोलीमा कहिले ‘मिसिन्छन्’ मेस्सी ? – Nepal Press

विश्वकपका लागि अर्जेन्टिनी टोलीमा कहिले ‘मिसिन्छन्’ मेस्सी ?

काठमाडौं । कतारमा विश्वकप सुरु हुनुभन्दा एक साताअघिसम्म युरोपमा घरेलु क्लब फुटबलका खेलहरु चल्नेछन्। यसका कारण युरोपका क्लबबाट खेलिरहेका खेलाडीहरु कहिलेबाट राष्ट्रिय टोलीमा सामेल हुन्छन् भन्नेबारे कौतुहलता बढ्दो छ।

अर्जेन्टिनाका लियोनल मेस्सी आबद्ध पीएसजीले नोभेम्बर १३ तारिखमा घरेलु लिगको खेल खेल्दै छ। मेस्सी यो खेल खेलेर मात्र राष्ट्रिय टोलीमा सामेल हुन्छन् या अगाडि नै भन्नेबारे केही कुरा बाहिर आएको छैन। तर उक्त खेलअघि आफुलाई छाड्न पीएसजीलाई अनुरोध गरेको भनेर आएका समाचारबारे मेस्सीले खन्डन गरेको छ। मिरर डट को डट युकेका अनुसार मेस्सीले पीएसजीसँग त्यस्तो आग्रह नगरेको बताएका छन्।

मेस्सी र पिएसजीबीच भएको सम्झौतामा एउटा बुँदा उनी नोभेम्बर ७ तारिखबाटै राष्ट्रिय टोलीमा सामेल हुन सक्ने उल्लेख भएको स्रोत उल्लेख गर्दै मिरर डट को ड युकेले जनाएको छ। मेस्सी हाल उत्कृष्ट लयमा छन्। घरेलु लिगमा टोलीका तीन स्ट्राइकर मेस्सी, नेमार र केलियन एमबाप्पेको शानदार प्रदर्शनपछि पीएसजीले स्पष्ट ५ अंकको अग्रता लिएको छ। पीएसजीले यो सिजन कुनैपनि प्रतियोगितामा खेल हारेको छैन।

मेस्सीले कतार विश्वकपलाई आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन्। उनले हालसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्। सन् २०१४ मा फाइनलसम्म पुगेपनि अर्जेन्टिना उपाधि भिडन्तमा जर्मनीसँग १(० गोलले पराजित भएको थियो। गत वर्ष कोपा अमेरिका जितेर मेस्सीले केही राहत पाएका छन्।

अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलयता हार ब्यहोरेको छैन। अर्जेन्टिनाले कतार विश्वकप खेल्ने राष्ट्रिय टोलीको घोषणा गर्न बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर