अष्टलक्ष्मीको घरमा भोट माग्न पुगिन् मानुषी, प्रेरणाको स्रोत भन्दै प्रशंसा (भिडिओ) – Nepal Press

अष्टलक्ष्मीको घरमा भोट माग्न पुगिन् मानुषी, प्रेरणाको स्रोत भन्दै प्रशंसा (भिडिओ)

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ७ मा उम्मेदवारी दिएकी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी सुपुत्री मानुषी यमी भट्टराई सोही क्षेत्रकी मतदाता एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यको घरमा भोट माग्न पुगेकी छन् । उनले अष्टलक्ष्मीलाई आफ्नो राजनीतिक जीवनको प्रेरणा स्रोत भन्दै प्रशंसा गरिन् ।

मानुषीले आजको घरदैलोका क्रममा अष्टलक्ष्मीको घरमा भएको छोटो भलाकुसारीको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।

अष्टलक्ष्मी र उनका श्रीमान् एमाले नेता अमृतकुमार बोहराले उनलाई जितको शुभकामना दिएका थिए ।

शाक्यले देश बनाउनका लागि एक–अर्कालाई गालीगलौज गर्न छोडेर सबै मिल्नुपर्ने सुझाव दिइन् । अरू विचारमा मतभिन्नता भए पनि गणतन्त्र र समाजवाद सबैको साझा भएकाले मिलेर जानुपर्ने बताइन् ।

जवाफमा मानुषीले भनिन्, ‘आदरणीय अंकल–आन्टी हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ, उहाँहरूले यति संघर्ष गरेर ल्याउनुभएको व्यवस्थाप्रति सम्मान गर्दै त्यसैलाई आधार मानेर सुशासन र समृद्धिको बाटोमा एक ढिक्का भएर एउटै मिसन बनाएर जान युवापुस्ता आतुर छौँ । उहाँहरूको शुभेच्छा र साथ रहोस् ।’

एमालेले शाक्यलाई काठमाडौं–७ बाट उम्मेदवार बनाउन चाहेको थियो । तर, शाक्यले नयाँलाई अघि सार्नुपर्ने भन्दै पछि हटेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर