टोखाबासीसँग ईश्वर पोखरेलले भने- सत्तागठबन्धनले बजेट काटेर टोखा–छहरे सुरुङमार्ग अलपत्र पार्‍यो – Nepal Press

टोखाबासीसँग ईश्वर पोखरेलले भने- सत्तागठबन्धनले बजेट काटेर टोखा–छहरे सुरुङमार्ग अलपत्र पार्‍यो

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टोखा-छहरे सुरुङमार्ग गठबन्धन सरकार बनेपछि अलपत्र परेको बताएका छन् । आगामी निर्वाचनपछि पूर्वाधार विकासलाई गति दिन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा चीनसँग सम्झौता भएको उक्त सुरुङमार्ग पूरा हुन नदिन सत्तागठबन्धन लागेको आरोप लगाउँदै त्यसलाई सम्पन्न गर्न एमालेको सरकार बन्नुपर्ने बताए ।

टोखा नगरमा मतदातासँगको अन्तरक्रियामा पोखरेलले टोखा-छहरेलगायत एमाले सरकारले अघि बढाउन चाहेका विकास र पूर्वाधार निर्माणका कामलाई गठबन्धनले नियोजित र योजनाबद्ध ढंगले असफल बनाउन षड्यन्त्र गरिहेको आरोप लगाए ।

कार्यक्रममा सहभागी एक मतदाताले सुरुङमार्गमा विनियोजित रकम रकमान्तर भएको सुनिएको भन्दै निर्माणबारे चासो राखेपछि पोखरेलले यस्तो जवाफ दिएका हुन् ।

ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको लागि ६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको थियो । चीनसँग जोडिने रणनीतिक महत्वको यो सडकमा छुट्याइएको पैसा शेरबहादुर देउवा नेतृत्वको सरकारले रकमान्तर गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणका क्रममा काठमाडौं टोखा-छहरे नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङसहितको सडक निर्माण गरिदिन चीन सहमत भएको थियो ।
सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको थियो । चीनसँग त्यसबेला भएका २० समझदारीमध्ये यो आयोजना पनि एक थियो ।

‘हाम्रो सरकारको पालामा चिनियाँ राष्ट्रपतिको नेपाल आगमनसँगै पूर्वसम्भाव्यता अध्ययन गर्ने टोखा-छहरे सुरुङमार्गका साथै काठमाडौं-पोखरा रेल वे, दुल्लुको प्राकृतिक ग्यास र नवलपरासीको फलाम खानी उत्खनन्बारे पूर्व सम्भाव्यताबारे अगाडि बढेकै हो’, पोखरेलले भने, ‘कांग्रेस नेतृत्वको सत्तागठबन्धन सरकार बनेपछि यी आयोजना पूरै बेवास्तामा पारिएका छन्, यो आयोजना अलपत्र बन्छ कि भन्ने चिन्ता मलाई पनि छ ।’

एमाले सरकारले अगाडि बढाएका विशेष महत्वका यी आयोजनालाई फेरि गति दिन पुनः एमाले कै नेतृत्व आवश्यक रहेको पोखरेलको भनाइ थियो ।

उनले भने, ‘हामीलाई फेरि अवसर दिनुस्, यो गठबन्धनले अलपत्र पार्न खोजेका यी महत्वपूर्ण काम फेरी हामी अगाडि बढाउँछौ ।’

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलगत्तै चीनबाटै आएको प्राविधिक टोलीले सुरुङ मार्गसहित रसुवागढी-काठमाडौं सडकको पूर्वसम्भाव्यता अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर