घरेलु मैदानमा विश्व च्याम्पियन बनेका यी ५ टोली – Nepal Press
विश्वकप फुटबल

घरेलु मैदानमा विश्व च्याम्पियन बनेका यी ५ टोली

पेरिस । कुनै पनि खेलकुद प्रतियोगितामा आयोजक तथा घरेलु टोलीलाई मैदान र दर्शकका कारण अतिरिक्त फाइदा मिल्ने विश्वास गरिन्छ । विश्वकप फुटबलको इतिहासले पनि यसलाई केही हदसम्म पुष्टि गर्छ ।

सन् १९३० मा आयोजित पहिलो विश्वकपको विजेता घरेलु टिम उरुग्वे थियो । त्यसको दुई वर्षपछि आयोजित दोस्रो संस्करणको विजेता इटाली पनि घरेलु टोली थियो । त्यसपछि भने घरेलु टिमले विश्वकप जित्न ३४ वर्ष पर्खिनुपर्‍यो । सन् १९६६ मा आयोजित विश्वकपको फाइनलमा तत्कालीन पश्चिम जर्मनीलाई हराएर इङ्गल्यान्ड विजेता बन्यो । त्यसयता, इङ्गल्यान्ड फेरी विश्व विजेता बन्न सकेको छैन ।

सन् १९७४ को विश्वकप विजेता पनि घरेलु टोली नै थियो । त्यति बेला पश्चिम जर्मनीले फाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले हराएको थियो । त्यसको चार वर्षपछि अर्जेन्टिनामा आयोजित विश्वकप घरेलु टोलीले जित्यो । फाइनलमा नेदरल्यान्ड्सलाई ३–१ गोलले हराएर अर्जेन्टिना पहिलो पटक विश्व विजेता बनेको थियो ।

फ्रान्स घरेलु टोलीका रूपमा विश्व च्याम्पियन बन्ने सबैभन्दा पछिल्लो राष्ट्र हो । १९९८ मा फ्रान्सले फाइनलमा साबिक विजेता ब्राजिललाई हराएको थियो । त्यसयता घरेलु टिमले विश्वकप जित्न सकेका छैनन् ।

घरेलु मैदानमा विश्वकप जितेको उरुग्वेले सन् १९५० मा ब्राजिलमा तथा पश्चिम जर्मनीले सन् १९५४ मा स्वीट्जरल्यान्ड, सन् १९९० मा इटालीमा र सन् २०१४ मा ब्राजिलमा पनि विश्वकप जितेका थिए । यस्तै इटाली सन् १९३८ मा फ्रान्स, सन् १९८२ मा स्पेन र २००६ मा जर्मनीमा विश्व च्याम्पियन बन्यो । अर्जेन्टिना सन् १९८६ मा मेक्सिकोमा पनि विश्व विजेता बनेको थियो ।

सन् १९५८ को विश्वकपमा घरेलु टोली स्वीडेन फाइनलमा पुगे पनि उपाधि जित्नबाट ब्राजिलले रोकेको थियो । विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको घरेलु टोली स्वीडेन मात्र हो । घरेलु टोलीमध्ये सन् १९३८ को विश्वकपमा फ्रान्स क्वाटरफाइनलसम्म पुगेको थियो ।

ब्राजिलमा सन् १९५० मा आयोजना भएको विश्वकपमा पहिलो चरणमा चारवटा समूह थिए भने समूहका विजेताबीच राउन्ड रोबिनमा प्रतिस्पर्धा गराएर विजेता छुट्टाइएको थियो । त्यति बेला ब्राजिल उपविजेता बन्यो । सन् १९५४ को विश्वकपमा स्वीट्जरल्यान्ड क्वाटरफाइनलसम्म पुगेको थियो । सन् १९६२ मा चिली सेमिफाइनलसम्म, सन् १९७० मा मेक्सिको क्वाटरफाइनलसम्म, सन् १९८२ मा स्पेन दोस्रो चरणसम्म पुगे ।

यस्तै, सन् १९८६ मा मेक्सिको क्वाटरफाइनलसम्म, सन् १९९० मा इटाली सेमिफाइनलसम्म, सन् १९९४ मा अमेरिका प्रिक्वाटरफाइनलसम्म, सन् २००२ का दुई आयोजकमध्ये जापान प्रिक्वाटरफाइनल र दक्षिण कोरिया सेमिफाइनलसम्म, सन् २००६ मा जर्मनी सेमिफाइनलसम्म, सन् २०१४ मा ब्राजिल सेमिफाइनल र सन् २०१८ मा रुस क्वाटरफाइनलसम्म पुगेका थिए। सन् २०१० को विश्वकप आयोजक दक्षिण अफ्रिका भने समूहगत चरणबाटै बाहिरिएको थियो ।

एसियाली कीर्तिमान बनाएको दक्षिण कोरिया

एसियामा दोस्रो पटक विश्वकप आयोजना हुँदै छ । यसअघि सन् २००२ मा एसियाली राष्ट्रले पहिलो पटक विश्वकप आयोजना गरेका थिए । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको त्यस विश्वकपमा एसियाली कीर्तिमान बन्यो । दक्षिण कोरियाले सेमिफाइनलसम्म पुगेर उक्त कीर्तिमान बनाएको थियो । त्यसअघि कुनै पनि विश्वकप संस्करणमा एसियाली टोलीले सेमिफाइनलसम्मको यात्रा तय गर्न सकेका थिएनन् ।

दक्षिण कोरियालाई फाइनल पुग्नबाट जर्मनीले रोकेको थियो । त्यति बेला सिउल रङ्गशालामा भएको खेलमा घरेलु टोली १–० गोलले पराजित भएको थियो । माइकल बालाकले ७५ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई फाइनल पुर्‍याएका थिए ।

त्यसअघि दक्षिण कोरियाले समूहगत चरणमा पोल्यान्डलाई २–० र पोर्चुगललाई १–० गोलले हराएको थियो भने अमेरिकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दक्षिण कोरियाले प्रिक्वाटरफाइनलमा इटालीलाई २–१ गोलले हराएको थियो भने क्वाटरफाइनलमा स्पेनलाई टाइब्रेकरमा पाखा लगाएको थियो ।

अर्को घरेलु टोली जापानको यात्रा भने टर्कीसँग १–० गोलले पराजित भएपछि रोकियो । त्यसअघि जापानले समूहगत चरणमा बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको थियो भने रुसलाई १–० गोलले हराएको थियो । ट्युनिसियामाथि २–० गोलको जितले जापान समूह विजेता नै बनेको थियो । त्यस विश्वकपमा एसियाबाट सहभागीमध्ये चीन र साउदी अरब भने सबै खेल हारेर समूहगत चरणबाटै बाहिरिएका थिए ।

सन् २००२ अघि दक्षिण कोरियाले कहिल्यै समूहगत चरण पार गर्न सकेको थिएन । त्यसयता सन् २०१० को विश्वकपमा मात्र पहिलो चरण पार गरेर प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । जापानले पनि पहिलो पटक समूहगत चरण पार गरेको थियो । उसले पहिलो पटक सन् १९९८ को विश्वकप खेलेको थियो । त्यसयता जापान सन् २०१० र सन् २०१८ मा पनि समूहगत चरण पार गरेर प्रिक्वाटरफाइनलसम्म पुगेको छ ।

एसियाली टोलीका रूपमा उत्तर कोरिया सन् १९६६ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यसपछि विश्वकपको क्वाटरफाइनलमा पुग्न एसियाली टोलीलाई ३८ वर्ष लाग्यो । ५६ वर्षअघि विश्वकपमा क्वाटरफाइनल पुगेको उत्तर कोरियाले हालसम्म दुई पटक मात्र यो प्रतियोगिता खेलेको छ ।

सन् २०१० को विश्वकपमा घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो चरण पार गर्न नसके पनि त्यति बेलाको साबिक उपविजेता फ्रान्सलाई अगाडि बढ्न नदिएर चर्चा कमाएको थियो । मेक्सिकोसँग बराबरी खेलेको दक्षिण अफ्रिका दोस्रो खेलमा उरुग्वेसँग पराजित भएको थियो भने तेस्रो खेलमा फ्रान्सलाई हराएको थियो । त्यस विश्वकपमा घाना महादेशीय कीर्तिमान बनाउनबाट चुकेको थियो ।

क्वाटरफाइनलमा उरुग्वेका लुइस स्वारेजले गोल लाइनबाट बल हातले क्लियर गरेपछि घाना स्तब्ध बनेको थियो । त्यसअघि कुनै पनि अफ्रिकी टोली विश्वकपको सेमिफाइनलसम्म पुग्न सकेका थिएनन् । यो खराब रेकर्ड अहिले पनि कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर