पाकिस्तानलाई एक रनले हराएको जिम्बावे बंगलादेशसँग ३ रनले पराजित – Nepal Press

पाकिस्तानलाई एक रनले हराएको जिम्बावे बंगलादेशसँग ३ रनले पराजित

मेलबर्न । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर- १२ मा जिम्बावे आइतबार बंगलादेशसँग ३ रनले पराजित भएको छ । १५१ रनको लक्ष्य पाएको जिम्बावेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रनमात्र जोड्न सक्यो ।

जिम्बावेलाई अन्तिम बलमा जीतका लागि ४ रन आवश्यक रहेकोमा एक रन पनि जोड्न सकेन । बंगलादेशलाई खेल जित्न भने सजिलो भएन ।

जिम्बावेलाई अन्तिम ओभरमा जीतका लागि १६ रन चाहिएको अवस्थामा बंगलादेशले दोस्रो र पाँचौं बलमा विकेट लिएको थियो । छैटौं बलमा बंगलादेशी बलर मोस्सादेक हुसेनले नोबल फ्याँकेपछि जिम्बावे चौका हानेको अवस्थामा खेल जित्ने अवस्थामा पुगेको थियो ।

यसअघि जिम्बावेले अघिल्लो खेलमा पाकिस्तानलाई एक रनले हराएको थियो । बंगलादेशविरुद्ध जिम्बावेका सिन विलियम्सले ६४, रायन बुर्लले २७ र रेगिस चाकब्भाले १५ रन बनाए । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । जारी प्रतियोगितामा तीनपटक प्लेयर अफ दी म्याच जितेका सिकन्दर रजा यसपटक भने शून्यमै आउट भए ।

बंगलादेशका बलर तास्किन अहमदले तीन तथा मोस्सादेक र मुस्ताफिजुर रहमानले दुई दुई विकेट हात पारे । त्यसअघि बंगलादेशको पालीमा नाजमुल होसेन सान्तो एक्लैले ७१ रन बनाएका थिए । अफिफ होसेनले २९, सकिब अल हसनले २३ र लिटन दासले १४ रन जोडे ।

तीन खेलबाट ४ अंक भएको बंगलादेश समूहको दोस्रो स्थानमा छ । भारतको दुई खेलबाट ४ तथा जिम्बावेको तीन खेलबाट र दक्षिण अफ्रिकाको दुई खेलबाट समान ३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर