पाकिस्तानमाथि जिम्बावेको रोमाञ्चक जीतपछि दुई देशका प्रधानमन्त्री र राष्ट्रपतिबीच छेडछाड – Nepal Press

पाकिस्तानमाथि जिम्बावेको रोमाञ्चक जीतपछि दुई देशका प्रधानमन्त्री र राष्ट्रपतिबीच छेडछाड

लाहोर । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा बिहीबार जिम्बावेले पाकिस्तानमाथि एक रनको रोमाञ्चक जीत हात पारेपछि दुई देशका राष्ट्रपति र प्रधानमन्त्रीबीच सामाजिक सञ्जालमा छेडछाड देखिएको छ ।

टोलीको रोमाञ्चक जीतपछि जिम्बावेका राष्ट्रपति इमर्सन म्यागावाले बधाई दिँदै पाकिस्तानलाई अर्कोपटक रियल मिस्टर बिन पठाउनु भन्दै ट्वीटरमा लेखेका थिए । त्यसपछि पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले म्यागावालाई रिप्लाई दिँदै आफूहरुसँग वास्तविक मिस्टर बिन नभए पनि वास्तविक क्रिकेट स्पिरिट रहेको र पुनरागमन गर्ने रमाइलो स्वभाव रहेको उल्लेख गरेका थिए । उनले अन्त्यमा राष्ट्रपति म्यागावालाई बधाई दिँदै जिम्बावेले राम्रो खेलेको प्रतिक्रिया दिएका छन् ।

खेलअघि पाकिस्तान क्रिकेट बोर्डको ट्वीटमा प्रतिक्रिया जनाउँदै एक जिम्बावियन क्रिकेट समर्थकले लेखेका थिए, ‘जिम्बावियनहरुले तिमीहरुलाई माफ गर्ने छैनन् । तिमीहरुले एकपटक हामीले वास्तविक मिस्टर बिनको सट्टा नक्कली मिस्टर बिन दिएका थियौं । हामी तिमीहरुलाई भोलि (खेल) त्यो विषयलाई सम्बोधन गर्छौं ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानी कमेडियन मोहम्मद आसिफले सन् २०१६ मा जिम्बावेमा आयोजित एक इभेन्ट्समा मिस्टर बिनका रुपमा अभिनय गरेका थिए । तर, आसिफको अभिनय फ्लप भएपछि जिम्बावियनहरुले पाकिस्तानले पाक बिन पठाएको भन्दै आलोचना गरेका थिए ।

अन्तिम ओभरमा स्तब्ध पाकिस्तान

पहिलो खेलमा भारतसँग ४ विकेटले पराजित पाकिस्तान लगातार दोस्रो हारसँगै अघिल्लो चरण प्रवेश गर्ने उसको सम्भावना कमजोर बनेको छ । पाकिस्तानलाई जिम्बावेविरुद्ध अन्तिम तीन बलमा जीतका लागि दुई रन आवश्यक थियो । चौथो बलमा पाकिस्तानले रन लिन सकेन भने त्यसपछि लगातार दुई विकेट गुमाउँदै स्तब्धपूर्ण हार ब्यहोरेको हो ।

त्यसअघि भारतसँग पनि अन्तिम ओभरमा पाकिस्तान स्तब्ध भएको थियो । भारतलाई अन्तिम ‌ओभरमा १६ रन आवश्यक रहेका बेला पाकिस्तानी बलर मोहम्मद नवाजले दुई वाइड र एउटा नो बल फ्याँकेका थिए । नो बलमा भारतका विराट कोहलीले छक्कासमेत प्रहार गरेपछि पाकिस्तान दबाबमा परेको थियो ।

अन्तिम बलमा जीतका लागि दुई रन आवश्यक रहेका वेला नवाजले ओभरको दोस्रो वाइड फ्याँकेपछि भारतको जीत लगभग पक्का देखिएको थियो । सुपर- १२ को समूह २ मा रहेको पाकिस्तानले अब दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र बंगलादेशसँग खेल्नेछ ।

दुई खेलपछि भारतको चार तथा दक्षिण अफ्रिका र जिम्बावेको ३-३ अंक छ। बंगलादेशको दुई अंक रहेको छ। पाकिस्तानसँगै नेदरल्यान्ड्सले पनि अंक जोड्न सकेको छैन । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर