मिरोस्लाभ क्लोस: विश्वकपका जर्मन गोल मेसिन – Nepal Press
फ्ल्यासब्याकमा विश्वकप

मिरोस्लाभ क्लोस: विश्वकपका जर्मन गोल मेसिन

बर्लिन । जर्मन फुटबलको स्वभाव नै मान्नुपर्छ, विश्वकपका हरेक संस्करणमा उपाधि दावेदारको हैसियत देखाउँछ । तथ्यांक नै पर्याप्त छ, सन् १९५४ यता आयोजना भएका १७ संस्करणमा चारपटक विजेता, चारपटक उपविजेता र चारपटक सेमिफाइनलिस्ट ।

तीनपटक क्वार्टरफाइनलबाट बाहिरिएको थियो जर्मनी । बाँकी दुईपटकमध्ये सन् १९७८ मा आयोजित संस्करणमा दोस्रो चरणबाट बाहिरिएको थियो । त्यति वेलाको दोस्रो चरणमा दुईवटा समूह हुन्थे भने समूहको विजेताले सोझै फाइनलमा प्रतिस्पर्धा गर्थ्यो ।

चार वर्षअघि रुसमा आयोजित २१ औं संस्करणमा जर्मनीले विश्वकपमा सात दशकयताकै खराब प्रदर्शन गर्‍यो । उक्त संस्करणमा जर्मनी पहिलो चरण नै पार गर्न नसकी बाहिरिएको थियो । तर, फेरि पनि जर्मनी उपाधि दावेदारकै हैसियतमा आगामी महिना सुरु हुने कतार विश्वकप खेल्दैछ ।

जर्मन फुटबलको अर्को स्वभाव भनेको उसको टोलीमा कुनै एक खेलाडीको धेरै दबदबा देखिँदैन । टोलीका हरेक खेलाडी उही स्तरका लाग्छन् । सन् २००२ मा पछिल्लोपटक एसियाले आयोजना गरेको विश्वकपमा पनि जर्मनीको यही अवस्था थियो । अन्य टोलीको अवस्था भने फरक थियो ।

फ्रान्सका जिनेदिन जिदानदेखि ब्राजिलका रोनाल्डो, रोनाल्डिन्हो, रोबर्टो कार्लोस, रिभाल्डोलगायतले विश्व फुटबल हल्लाइरहेका थिए । जिदानकै दुई गोलको मद्दतमा फ्रान्सले फाइनलमा ब्राजिललाई हराएर सन् १९९८ को विश्वकप जित्यो । त्यस वर्ष जिदान फिफा वर्ष खेलाडी भए । त्यसअघिका लगातार दुई वर्ष रोनाल्डोले उक्त अवार्ड जितेका थिए । सन् १९९९ मा रिभाल्डोले उक्त अवार्ड जिते ।

सन् २००० मा युरोकप जितेपछि जिदान फेरि उक्त अवार्डका हकदार देखिए । सन् २००२ विश्वकप आयोजनाको वर्ष थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको त्यस विश्वकपमा त्यति वेलाको साविक विजेता फ्रान्स पहिलो चरणबाटै बाहिरियो । ब्राजिल भने लगातार तेस्रोपटक फाइनलमा पुग्यो । पेलेको पुस्ता यता ब्राजिल विश्व फुटबलमा पहिलोपटक लगातार प्रभावशाली देखिइरहेको थियो ।

यसपटक ब्राजिलले उपाधि जित्न हराउनुपर्ने टोली थियो जर्मनी । जर्मनी १२ वर्षपछि फाइनलमा पुगेको थियो । डिएगो म्याराडोनासहितको अर्जेन्टिनालाई हराएर जर्मनी सन् १९९० को विश्व च्याम्पियन बनेको थियो । फाइनलमा ब्राजिल जर्मनीका तीन खेलाडीसँग बढी सचेत थियो । उनीहरु थिए मिडफिल्डर माइकल बालाक, गोलरक्षक ओलिभर कान र अर्का स्ट्राइकर मिरोस्लाभ क्लोस ।

बालाकले क्वार्टरफाइनलमा अमेरिका र सेमिफाइनलमा दक्षिण कोरियाविरुद्ध एकमात्र तर निर्णायक गोल गरेका थिए । गोलरक्षक कान त पर्खाल नै थिए । उनले फाइनलसम्म आइपुग्दा एक गोलमात्र खाएका थिए । क्लोसले समूहगत चरणमा साउदी अरेबियाविरुद्ध ह्याट्रिक तथा क्यामरुन र आयरल्यान्डविरुद्ध एक गोल गरेका थिए । क्लोसले ती सबै गोल टाउकोले गरेका थिए ।

तर, फाइनलमा जर्मनीको तागतमाथि ब्राजिल हावी भयो । रोनाल्डोको दुई गोलको मद्दतमा ब्राजिल विजयी भयो । प्रतियोगितामा रोनाल्डोले ८ गोल गर्दा क्लोस ५ गोलसहित रिभाल्डोसँगै दोस्रो सर्वाधिक गोलकर्ता रहेका थिए । उनी एकै विश्वकपमा ५ हेड गोल गर्ने पहिलो फुटबलर बने, जुन कीर्तिमान अहिले पनि कायम छ ।

क्लोसले २२ वर्षको उमेरमा सन् २००१ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन् । ह्यान्डबल खेलाडी पोलिस आमा र फुटबलर जर्मन बाबुका सन्तान क्लोस खेलकुदमा लाग्ने माहोल सजिलै बनेको थियो । उनी पानीको फोका जस्तो देखिएनन् ।

सन् २००६ मा घरेलु मैदानमा आयोजित विश्वकपमा जर्मनी सेमिफाइनलबाटै बाहिरिए पनि क्लोसले सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुट जितेका थिए । इटालीसँग अतिरिक्त समयको खेल सकिन लाग्दा दुई गोल व्यहोरेर जर्मनीको यात्रा टुंगिएको थियो । क्लोसले क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध अन्तिम समयमा खेललाई बराबरीमा ल्याएर टाइब्रेकरमा पुर्‍याए । उनले समूहगत चरणमा चारसहित ५ गोल गरिसकेका थिए ।

सन् २०१० को विश्वकपमा पनि क्लोसले ४ गोल गरे । यसपटक पनि जर्मनी सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन । फाइनल पुग्ने भिडन्तमा स्पेनले १-० गोलले हरायो । तर, व्यक्तिगत रुपमा क्लोस विश्वकपका सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्नबाट दुई गोलले मात्र पछाडि रहे । जर्मनीकै गर्ड मुलरले बनाएको १४ गोलको कीर्तिमान ब्राजिलका रोनाल्डोले सन् २००६ को विश्वकपमा तोडेका थिए ।

यसपटक क्लोसले मुलरसँग बराबरी गरे । उनले क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध २ गोल गरेका थिए । क्लोस लगातारको लयका कारण सन् २०१४ को विश्वकप टोलीमा पनि समावेश भए । यसपटक जर्मनीले फाइनल पुग्न ब्राजिललाई हराउनुपर्ने थियो ।

चोटका कारण नेमार सेमिफाइनल खेल्न सक्ने अवस्था थिएन । क्लोसले समूहगत चरणमा घानाविरुद्ध गोल गर्दै रोनाल्डोको कीर्तिमानसँग बराबरी गरे । ब्राजिलविरुद्ध गोल गर्न सकेको अवस्थामा क्लोसले रोनाल्डोको विश्व कीर्तिमान तोड्ने अवस्था थियो । नेमारविहीन ब्राजिलमाथि जर्मनी सुरुबाटै हावी भयो । ११औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । २३औं मिनेटमा क्लोसले गोल गर्दै अग्रता दोब्बरमात्र बनाएनन् उनी विश्वकपको सर्वकालीन सर्वाधिक गोलकर्ता भए । खेलमा त्यसपछि जर्मनीले ५ गोल थप्यो ।

विश्वकपको सर्वाधिक गोलकर्ता बने पनि उनले विश्व फुटबलले प्रदान गर्ने वर्ष फुटबलर अवार्ड कहिल्यै जित्न सकेनन् । क्लोस सन् २०१४ मा जर्मनीका सर्वकालीन सर्वाधिक गोलकर्ता पनि बनेका थिए । उनले गर्ड मुलरको नाममा रहेको ४० वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । विश्वकपका लगातार चार संस्करणमा कम्तिमा सेमिफाइनल खेलेको कीर्तिमान पनि क्लोसको नाममा छ ।

विश्वकपमा क्लोसको उक्त कीर्तिमान तोड्न तत्काल सजिलो देखिँदैन । विश्वकपमा अहिले खेलिरहेका क्रिस्टियानो रोनाल्डोले ७ र लियोनल मेस्सीले ६ गोल गरेका छन् । सन् १९५४ को विश्वकपमा हंगेरीका सान्दोर कक्सिसले ११, सन् १९५८ मा फ्रान्सका जस्ट फोन्टाइनले १३ र सन् १९७० को विश्वकपमा गर्ड मुलरले १० गोल गरे जस्तो कुनै खेलाडीले दोहोरो अंकमा गोल गरेमात्र क्लोसको कीर्तिमान तोडिने सम्भावना रहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर