रोनाल्डोको नयाँ सेलिब्रेसन पोज: छातीमा दुवै हात राखेर आँखा चिम्लिँदै गर्छन् ध्यान – Nepal Press

रोनाल्डोको नयाँ सेलिब्रेसन पोज: छातीमा दुवै हात राखेर आँखा चिम्लिँदै गर्छन् ध्यान

लन्डन । प्रशिक्षक एरिक हान टागसँगको मनमुटाव र विवादपछि टोलीमा फर्किएका क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै गोल गरेका छन् ।

युरोपा लिगअन्तर्गत बिहीबार राति म्यान युनाइटेडले सेरिफलाई ३-० गोलले हराउँदा रोनाल्डोले तेस्रो गोल गरेका थिए । तर, उनको गोलभन्दा गोलपछिको उनको सेलिब्रेसन पोजले चर्चा पाइरहेको छ । रोनाल्डोले गोल गरेपछि दुवै हात छातीमा राखेर ध्यान गरे जस्तो पोज दिएका थिए ।

रोनाल्डोको यो नयाँ गोल सेलिब्रेसन पोज हो । धेरैले रोनाल्डो शान्तिको खोजीमा रहेको र राहत मिलेको रुपमा व्याख्या गरिरहेका छन् । रोनाल्डो आफैंले भने यसबारे केही बताएका छैनन् । रोनाल्डोको ‘सिउ’ पोज लामो समयदेखि कायम थियो ।

गोल गरेपछि दौडिएर उफ्रिँदै दुईवटा खुट्टा फारेर हातलाई पनि जोड लगाएर क्रस गर्दै फराकिलो बनाएर देखाउने आफ्नो ट्रेडमार्क पोज रोनाल्डोले यसपटक सेरिफविरुद् भने फेरेका हुन् । यो सिजन रोनाल्डो टोलीमा सुरुवाती ११ मा स्थान बनाउन संघर्षरत छन् ।

गत साता टोट्टनहामविरुद्ध भएको घरेलु लिगको खेलमा वैकल्पिक खेलाडीका रुपमा समेत मौका नपाएपछि रोनाल्डो निर्धारित समयको खेल सकिनु एक मिनेटअघि प्लेयर बक्स छाडेर हिँडेका थिए । रोनाल्डोको यो व्यवहारको निकै आलोचना भएको थियो ।
प्रशिक्षक हागले लगत्तै चेल्सीसँग भएको खेलमा रोनाल्डोलाई टोलीमा समावेश नै गरेका थिएनन् ।

तर, बिहीबारको खेलमा भने रोनाल्डोलाई सुरुवाती ११ मै समावेश गरेर हागले उतारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर