‘के घर के डेरा’ मा बढ्दै दर्शकको आकर्षण – Nepal Press

‘के घर के डेरा’ मा बढ्दै दर्शकको आकर्षण

काठमाडौं । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ मा दर्शकको आकर्षण देखिरहेको छ । आज चौथो दिन अधिकांश हलको अकुपेन्सीका कारण पहिलो साता संकेत राम्रो हुने देखिएको चलचित्र टीमले जनाएको छ ।

प्रदर्शन भएको पहिलो दिनदेखिनै दर्शकको राम्रो साथ पाएको यो चलचित्र बलियो माउथ पब्लिसिटी, विपिन कार्की, दयाहाङ राई, सुरक्षा पन्त, वर्षा राउतजस्ता पपुलर कलाकारका कारण कारण पनि दर्शकको रोजाइमा परेको हो । यो चलचित्रलाई तिहारको बिदाले पनि राम्रो साथ दिएको छ ।

निर्देशक दीपेन्द्र के खनालले देशभरका हलमा उल्लेख्य दर्शकको भिडले आफूहरू निकै खुसी भएको प्रतिक्रिया दिए । उनले भने, ‘सिनेमा हेरेर दर्शक रमाइरहेका छन् । बिदाको समय, दर्शकको रोजाइका कलाकार तथा चलचित्रको कथाका कारण चलचित्र हेर्ने दर्शक हलमा बढिरहेका छन् । यसले हामीलाई थप हौसला मिलेको छ ।’

अभिनेता विपिन कार्कीले वर्ड अफ माउथका कारण चलचित्र सफलताको बाटोमा गएको दाबी गरे । उनले भने, ‘हलमा दर्शक रमाइलो गर्न जान्छन् । यो चलचित्रले दर्शकलाई भरपुर रमाइलो प्रदान गर्न सक्ने सामर्थ्य राखेको छ । सोही कारण दर्शकको साथ मिलेको छ ।’

प्रदर्शन भएको पहिलो दिनदेखिनै कलाकारसहित निर्माण टिम दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलमा पुगेका छन् । आज क्यूएफएक्स, एफक्यूब, बिग, आइएनआईलगायत मल्टिप्लेक्समा सिनेमाको अकुपेन्सी बलियो देखिएको छ । त्यस्तै देशभरका सिंगल स्क्रिनमा पनि दर्शकको उल्लेख्य उपस्थिति थियो ।

‘के घर के डेरा’ को पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *