रोहिणीमा तिहारलगत्तै कुस्ती प्रतियोगिता हुने – Nepal Press

रोहिणीमा तिहारलगत्तै कुस्ती प्रतियोगिता हुने

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ । तराई–मधेशको लोकप्रिय खेलको रुपमा रहेको कुस्तीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

कुस्ती खेललाई लोप हुन नदिन प्रतियोगिताको आयोजना गर्न लागिएको उनले जानकारी दिए । रोहिणी गाउँपालिकाको आयोजनामा कात्तिक १५ र १६ गते रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा उक्त प्रतियोगिता हुने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले बताए ।

युवाहरूलाई प्रोत्साहन र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरी प्रतियोगिता गर्न लागिएको क्षेत्रीले बताए । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगितामा नेपाल र भारतबाट गरी २५ जना बढी पहलमानको सहभागिता रहने उनले बताए । त्यस्तै १०÷१५ हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीले बताए । उनले आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर