शनिबार ‘के घर के डेरा’को हाउसफुल व्यापार – Nepal Press

शनिबार ‘के घर के डेरा’को हाउसफुल व्यापार

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘के घर के डेरा’ले दर्शकको राम्रो साथ पाएको छ ।

पहिलो दिनको पहिलो शोजमा करिब ४० प्रतिशतको अकुपेन्सी साँझसम्म पुग्दा उकालो लागेर ८० माथि पुग्यो । केही हल त हाउसफुल भए । केही हलमा कलाकार पुगेका पनि थिए ।

आज शनिबार विहानी शोबाटै दर्शकको राम्रो उपस्थिति रहेको थियो भने मध्यान्न पछिका सवै शोहरु हाउसफुल भएका थिए ।

निर्देशक दीपेन्द्र के खनालले सिनेमा हेरेर दर्शक रमाइरहेको बताए । सकारात्मक समीक्षा प्राप्त गरेको सिनेमाले विकडेजमा आफूलाई कसरी अघि बढाउँछ भन्ने कुरा सिनेमाको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।

शुक्रबार र शनिबार कलाकारसहित निर्माण टिम दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलहरुमा पुगेका थिए । दर्शकबाट राम्रो रेस्पोन्स पाएपछि कलाकारहरु खुशी देखिन्थे ।

क्यूएफएक्स, एफक्यूब, बिग, आइएनआई लगायत मल्टिप्लेक्समा सिनेमाको अकुपेन्सी बलियो देखिएको छ । भने उस्तै रेसियोमा देशभरका सिंगल स्क्रिनमा पनि राम्रो अकुपेन्सी देखिन्छ ।

शुक्रबार सिनेमाले ५० लाख हारहारीमा ओपनिङ गरेको जानकारी वितरक करण श्रेष्ठले दिए । ‘पहिलो दिन ५० को हारहारीमा ओपनिङ छ । शनिबार ८० देखि ९० लाख ग्रस आसपास हुने अनुमान छ’ श्रेष्ठले भने ।

त्यसैपनि विकडेजको पहिलो दिन सोमबारदेखि तिहार बिदा एकसातासम्म भएकोले सिनेमालाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ ।

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा’को पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *