डलरको भाउ देखाउँदै तिहारका सामानमा व्यवसायीको मनलाग्दी मूल्यवृद्धि, केमा कति बढ्यो ? – Nepal Press

डलरको भाउ देखाउँदै तिहारका सामानमा व्यवसायीको मनलाग्दी मूल्यवृद्धि, केमा कति बढ्यो ?

काठमाडौं । तिहार नजिकिँदै गर्दा झिलिमिली बत्ती, सयपत्री, मखमली फूल र भाइमसला महँगिएको छ । पछिल्लो सयम नेपाली मुद्राको तुलनामा अमेरीकी डलरको मूल्य बढ्दै गएको कारण देखाउँदै व्यवसायीहरूले तिहारका सामानको मूल्य मनलाग्दी तोक्न थालेका हुन् ।

व्यवसायीहरू डलरको मूल्य बढेकाले फूलमाला, झिलिमिली बत्ती र भाइमसला सबै आयातित वस्तुको मूल्य बढेर आएको दाबी गर्छन् । नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले सबै सामान आयात गर्नुपर्ने भएकाले उतैबाट भाउ बढेको बताए । विद्युतीय सामाग्रीको मूल्य २० प्रतिशतसम्म बढेको व्यवसायीहरूको भनाइ छ । यता मखमली र गोदावरीको माला पनि महंगो भएको छ । अहिले भाइमसलाको मुल्य केजीमै ६ सय रूपैयाँसम्म बढेको छ ।

तिहारमा कपासबाट बनाइएको बत्ती, दीयो तथा केराको सुप्लामा बालिने परम्परालाई पछिल्लो समय विद्युतीय बत्तीले विस्थापित गरिरहेको छ । जसले नेपालबाट वर्सेनि करोडौं रकम बाहिरिरहेको छ । तिहारमा झिलिमिली बत्ती र घर सजावटको होडबाजी नै चल्ने गरेको छ । चाडबाड नेपाली भएपनि मौलिक सामग्रीको प्रयोग हराउँदै जादा आयातित सामानको मूल्यवृद्धिले उपभोक्ताको ढाड सेक्दै गएको छ ।

भाइमसलाको मूल्य केजीमै ६ सय बढ्यो

भाइटीकामा प्रयोग हुने भाइमसलाको मूल्य अचाक्ली बढेको छ । खुद्रा व्यापार संघका अनुसार सबैभन्दा बढी खपत हुने काजु नै अहिले १८ सय रूपैयाँसम्म पुगेको छ । अघिल्लो वर्ष १३ सय रूपैयाँसम्म थियो । पेस्ता झण्डै ५ सय रूपैयाँ बढेको छ । अहिले झण्डै २ हजार ३ सय प्रतिकेजी खुद्रा मूल्यमा पेस्ता बिक्री भइरहेको संघका निवर्तमान अध्यक्ष बज्राचार्यले बताए ।

छोकडा मागअनुसार आयात नभएकाले मूल्यवृद्धि भएको छ । गत वर्ष प्रतिकेजी ५ सय रूपैयाँमा बिक्री भएको थियो । अंजिर, बदाम, पेस्तालगायतमा भने सामान्य तलमाथि रहेको संघले जनाएको छ । बजारमा व्यपारीनै पिच्छे भाइमसलाको मूल्य फरक-फरक छ ।

झिलिमिली बत्तीमा २० प्रतिशत मूल्यवृद्धि

यस पटकको तिहारका लागि झण्डै ३५ करोड बराबरको विद्युतीय बत्ती (फेस्टिभ लाइट) आयात भइसकेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष सुदर्शन पौड्यालका अनुसार एकाध कन्टेनरबाहेक सबै सामान नेपाल भित्रिसकेको छ । विद्युतीय बत्ती तिहारको ५ दिनका लागि मात्र अत्यधिक बिक्रि हुने गरेको छ ।

गत बर्ष झण्डै आधा खर्बको झिलिमिली बत्ती आयात भएकोमा यस वर्ष भने कम आयात भएको पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । आयात कम भएपनि मूल्य भने बढेर आएको छ ।
तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतीतपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत मार्जिन रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको पौडेलको भनाइ छ । मुल्यवृद्धि हुनुमा उनले पनि अमेरीकी डलर नै कारण देखाए ।

मखमली र गोदावरी पनि महंगो

मखमली मालाको मूल्य गत वर्षको भन्दा बढी भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । गत वर्ष प्रतिमाला ३५ रूपैया औसत थोकमूल्य रहेको मखमली यसपटक ४० रूपैयाँ पर्ने एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् । यस्तै, गोदावरी फूलको मालाको माग २० हजार रहने र प्रतिमाला ४ सय रूपैयाँ पर्ने एसोसिएसनले जनाएको छ । गोदावरी गतवर्ष ३५० रूपैयाँ प्रतिमाला थियो । त्यतिबेला १५ हजार माला बिक्री भएको थियो । तर, निर्धारित मूल्यभन्दा बढी व्यापारीले असुल्दै आएका छन् ।

मखमलीको मालाको माग ४ लाख २५ हजार हुने अनुमान छ । गत वर्ष ४ लाख ५ हजार खपत भएको थियो । नेपाल मखमलीमा आत्मनिर्भर भएको फ्लोरिकल्चरले जनाएको छ । १ लाख मखमलीको माला निर्यातसमेत हुने अनुमान गरिएको छ । यसपटक मखमलीको माला मात्र १ करोड ७० लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ । सयपत्री, मखमली र गोदावरी फूलको कारोबार ५ दिनमा १३ करोड रूपैयाँभन्दा बढी हुने अनुमान छ । गत वर्ष ११ करोड रूपैयाँ बराबरको मालाको कारोबार भएको थियो । अहिले सयपत्रीको माग १० प्रतिशतले बढेको फ्लोरिकल्चरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *