बुटवलमा ५ उद्योग वाणिज्य संघहरुको बैकविरुद्ध प्रदर्शन – Nepal Press

बुटवलमा ५ उद्योग वाणिज्य संघहरुको बैकविरुद्ध प्रदर्शन

वृद्धि गरेको बैंक व्याज नघटाए कडा आन्दोलनको चेतावनी

रुपन्देही । बैंक तथा वित्तीय संस्थाहरुले व्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरु आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी व्याजदरमा चर्को  वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशील उद्योग वाणिज्य संघहरुले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ र सैनामैना उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव बिमलराज भट्टराईले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराउनको लागि सांकेतिक कार्यक्रम मात्रै हो।’ महासचिव भट्टराईले भने–‘हाम्रो माग सुनुवाई भएन भने अझै ससक्त आन्दोलन चर्काउने छौं ।’

बुटवल उद्योग वाणिज्य संघको सचिवालय बालमन्दिरबाट सुरु भएको विरोध प्रदर्शन अमरपथ, बीपी चोक, राममन्दिर लाइन हुँदै जेसीजचोकमा पुगेर समापन गरिएको थियो । विरोध प्रदर्शनको समापन कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ को महामारीबाट थलिएका उद्योगी व्यवसायीहरु तरलता अभावले झनै पिल्सिनुपरेको र त्यसमाथि बैंक तथा वित्तीय संस्थाहरुले महिनैपिच्छे व्याजदर बृद्धि गर्दै जाँदा भएका उद्योग, व्यापार, व्यवसाय पनि बन्द गर्नुपर्ने स्थिति आएको बताए ।

‘बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले नियन्त्रणमा राख्नु पर्ने हो ।’ उनले भने–‘राष्ट्र बैंकले लगाम छोडिदिँदा बैंक तथा वित्तीय संस्थाहरुमा मनोपली भएको छ ।’ जसका कारण ८÷९ प्रतिशतमा रहेको बैंकको व्याजदर बृद्धि भएर अहिले १५÷१६ प्रतिशतसम्म पुगिसकेको उनको भनाइ छ ।

यस्तो अवस्थामा उद्योगी व्यवसायीलाई बचाउनको लागि राहत दिनुपर्नेमा झनै च्याप्ने काम भएको बताउँदै उनले आफूहरुको माग तत्काल सुनुवाई गर्न आग्रह गरे ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान गरेको नीजि क्षेत्रलाई राहत दिई आर्थिक गतिविधिलाई अझै बढी चलायमान बनाउनुपर्नेमा बैंक तथा वित्तीय संस्थाहरुले गरेको व्याजदरको चरम बृद्धिले सञ्चालन भइरहेका उद्योग व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थिति आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले बताए । उनले उद्योगी व्यवसायीहरुले पटक पटक आग्रह गर्दा पनि राष्ट्रबैंकले सुनुवाई नगरेको भन्दै व्यवसायीको विनम्रतालाई सुनिँदैन भने उद्योगी व्यवसाय थप सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उनले चेतावनी दिए ।

व्यवसायीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसायलाई बचाउनको लागि बैंकको व्याजदर सिंगल डिजिटमा झार्नुपर्ने, अहिलेको आर्थिक संकटका कारण उद्योगी व्यवसायी किस्ता व्याज तिर्न नसक्ने अवस्थामा रहेकाले असोज मसान्तमा बुझाउनुपर्ने किस्ता व्याज तिर्ने समयावधि थप गर्नुपर्ने उनीहरुको माग छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशतभन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको व्याजदर कम्तीमा १ वर्षसम्म ऋणीको सहमतिविना बढाउन नपाइने, चालु पुँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तीमा आर्थिक अवस्था सहज भएपछि लागू गर्न माग गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *