बैंकलाई व्याजदर घटाउन र किस्ता-व्याज बुझाउने समयावधि थप गर्न माग – Nepal Press

बैंकलाई व्याजदर घटाउन र किस्ता-व्याज बुझाउने समयावधि थप गर्न माग

रुपन्देही । रुपन्देहीका उद्योग वाणिज्य संघहरुले बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको व्याजदर घटाउन तथा असोज मसान्तसम्ममा तिर्नुपर्ने किस्ता तथा व्याज बुझाउने समयावधी थप गर्न माग गरेका छन् ।

रुपन्देहीमा रहेका बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ र सैनामैना उद्योग वाणिज्य संघले आइतबार संयुक्त विज्ञप्ती जारी गरी कोभिड–१९ महामारीसँगै कर्जामा तरलता अभावले मार खेपिरहेको अवस्थामा उद्योगी व्यवसायीलाई राहत दिनुको साटो चर्को व्याजदर थोपरेर बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै एकल विन्दुमा व्याजदर कायम गर्न माग गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी (माधव) भण्डारी, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारी र सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

विज्ञप्तीमा बढ्दो व्याजदरका कारण उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएकोले एकल विन्दुमा व्याजदर कायम गर्नुपर्ने, उद्योगी व्यवसायीहरुले असोज मसान्तसम्ममा बुझाउनुपर्ने किस्ता तथा व्याज बुझाउने समयावधी थप गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशतभन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको व्याजदर कम्तीमा १ वर्षसम्म ऋणीको सहमतिविना बढाउन नपाइने, चालु पूँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तीमा आर्थिक अवस्था सहज भएपछि लागु गर्न माग गरिएको छ ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान गरेको नीजि क्षेत्रलाई राहत दिई आर्थिक गतिबिधिलाई अझै बढी चलायमान बनाउनुपर्नेमा बैंक तथा वित्तीय संस्थाहरुले गरेको व्याजदरको चरम बृद्धिले सञ्चालन भइरहेका उद्योग व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थिति आएको र नयाँ लगानीलाई समेत निरुत्साहित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उद्योगी व्यवसायीहरुले थेग्नै नसक्ने गरी भएको व्याजदरको बृद्धिलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकलाई पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुको बिनम्रतालाई गम्भीरतापूर्वक लिन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *