महिला क्रिकेटमा स्वर्ण जित्नेमा विश्वस्त एपीएफ – Nepal Press

महिला क्रिकेटमा स्वर्ण जित्नेमा विश्वस्त एपीएफ

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फाइनल पुगेको एपीएफकी ज्योती पाण्डेले टिम स्वर्ण जित्नेमा विश्वस्त रहेको बताएकी छिन् ।

सोमबार पोखरा रंगाशालामा क्रिकेट करियरकै राम्रो प्रदर्शन गरेकी ज्योतीले ६१ बलमा ७ चौकासहित अविजित ६९ रन बनाएकी थिइन् । आजको खेलमा प्लेयर आफदी म्याच पनि ज्योतीनै घोषित भइन् ।

कर्णालीलाई पराजित गर्दै एपीएफ फाइनल पुग्यो । फाइनल पुगेसँगै खेलपछि बोल्दै ज्योतीले एपीएफमा धेरै अनुभव भएकै कारण अरु टिमलाई स्वर्ण जित्न गाह्रो हुने बताइन् ।

यस पटक महिला क्रिकेटमा नेपाल विभागीय अर्को क्लब नेपाल पुलिसले डेब्यू गरेको छ । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय टिमका आधीभन्दा बढी खेलाडी राखेर पुलिसले बनाएको टिमले डेब्यू गरेकै सिजन उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा अर्को विभागिय प्रतिद्वन्दी एपीएफसँगको भेट पक्का गरेको छ ।

यसरी विभागले टिम बनाउँदा अरु खेलाडीहरुले विभागमा पाउने सेवा सुविधाकै लागि पनि मिहेनत गर्ने ज्योतीले बताइन् । ‘यसरी टिम बनाउँदा यसले युवा खेलाडीलाई जति राम्रो गर्यो त्यति विभागले लिन्छ भन्ने हुन्छ । विभागले पाउने सेवा सुविधाले गर्दा पनि नयाँ खेलाडीलाई प्रेरणा मिल्छ’, उनले भनिन् ।

राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन गरेपनि ज्योतीले नवौंमा यसअघिका खेलमा राम्रो प्रदर्शन गर्न सकेकी थिइनन् । आज भने उनले सुरुआत देखि नै राम्रो गर्ने सोचेकाले राम्रो भएको बताइन् ।

सधैँ धरेलु प्रतियोगितामा दबदवा बनाएको एपीएफ एस पटक पनि अर्को विभागीय टिमलाई पराजित गर्दै स्वर्ण जित्नेमा विश्वस्त रहेको ज्योती बताउँछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर