ज्योति र नेरीको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीलाई हराउँदै एपीएफ फाइनलमा – Nepal Press

ज्योति र नेरीको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीलाई हराउँदै एपीएफ फाइनलमा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ क्लव फाइनल प्रवेश गरेको छ ।
एपीएफको जीतमा ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरिन् भने नेरी थापाले बलिङमा ४ विकेट लिइन् ।

पोखरा रंगाशालामा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२९ रनको योगफल तयार गरेको थियो ।

एपीएफले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ८.२ ओभरमा ६२ रन जोड्दै अलआउट भयो । लुम्बिनीका लागि सुस्मिता बजगाईंले १२ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफको बलिङमा नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा ७ रनमात्रै खर्चिइन् । यस्तै रेखा रावल, ईन्दु वर्मा र सीता रानामगरले समान एकएक विकेट लिए ।

पहिला ब्याटिङ गरेको एपीएफका लागि ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरिन् । उनले ६१ बलमा ७ चौकासहित अविजित ६९ रनको योगदान गरिन् । ममता चौधरीले १६ रन जोडिन् । कप्तान सीता राना मगर ११ रनमा आउट हुँदा रोमा थापा १२ रनमा अविजित रहिन् ।

लुम्बिनीको बलिङमा कृतिका मरासिनीले दुई विकेट लिइन् । यस्तै मनिषा रानाले एक विकेट लिइन् ।

मंगलबार हुने फाइनलमा एपीएफले आज हुने दोस्रो सेमिफाइनल खेलक नेपाल पुलिस क्लब र बाग्मती प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर