विश्वकप नजिकै मेस्सीदेखि कान्टेसम्मका स्टार खेलाडी चोटग्रस्त – Nepal Press

विश्वकप नजिकै मेस्सीदेखि कान्टेसम्मका स्टार खेलाडी चोटग्रस्त

लन्डन । कतारमा आगामी महिना सुरु हुने विश्वकप फुटबलको माहोल चर्किरहेको छ । सहभागी हुने ३२ टोलीले अब धमाधम राष्ट्रिय टोलीको घोषणा गर्नेछन् ।

तर, यहीबीचमा टोलीका भरोसा मानिएका स्टार खेलाडीहरु चोटग्रस्त छन् । फ्रान्सका एन्गोलो कान्टे विश्वकप गुमाउने अवस्थामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । चेल्सीका यी मिडफिल्डरले गत अगस्टदेखि खेलेका छैनन् ।

एकपछि अर्को चोट थपिएकाले आगामी तीन महिना उनी मैदान बाहिर बस्नुपर्ने अवस्था रहेको द एथलेटिकले उल्लेख गरेको छ । ३१ वर्षीय कान्टे केही आराम भएर पहिलो टोलीमा अभ्यास गर्न थालेपछि ह्यामस्ट्रिङको समस्या देखिएको बताइएको छ ।

कान्टेले सन् २०१६ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । सन् २०१६ मा युरोकपको फाइनल र सन् २०१८ को विश्वकप उपाधि यात्रामा कान्टेको भूमिका महत्वपूर्ण थियो । उनले फ्रान्सको वर्ष फुटबलर, इङ्लिस प्रिमियर लिगको सर्वोत्कृष्ट सिजन खेलाडी जस्ता अवार्डहरु जितेका छन् ।

अहिले खेलाडीको चोटका कारण अर्जेन्टिना पनि चिन्तित देखिन्छ । लियोनल मेस्सी, एन्जेल डी मारिया, पाउलो डिबाला जस्ता अर्जेन्टिनी खेलाडीहरु चोटसँग जुधिरहेका छन् । मेस्सीले चोटका कारण पछिल्ला दुई क्लब खेल गुमाएका छन् । उनलाई ह्यामस्ट्रिङ समस्या रहेको जनाइएको छ । मेस्सी कहिले मैदान फर्कने निश्चित छैन ।

कतार विश्वकपलाई आफ्नो अन्तिम सहभागिता बताइरहेका मेस्सीलाई डी मारिया र डिबालाको चोटले पनि चिन्तित बनाएको छ । अर्जेन्टिना ३६ वर्षपछि पहिलो विश्वकप उपाधि जित्ने योजनामा छ । यता सन् १९६६ पछि पहिलोपटक विश्व च्याम्पियन बन्न प्रयासरत इङ्ल्यान्ड पनि चोटको मारमा परेको छ । आशा गरिएका रिसि जेम्स, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, कायल वाकर, काल्भिन फिलिप्सलगायत खेलाडीहरु घाइते छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर