चुनावको मुखमा लाइसेन्स बाँड्ने हतारो- आचारसंहिताविपरीत भन्दै आयोगले सोध्यो सेबोन र बीमा समितिसँग स्पष्टीकरण – Nepal Press

चुनावको मुखमा लाइसेन्स बाँड्ने हतारो- आचारसंहिताविपरीत भन्दै आयोगले सोध्यो सेबोन र बीमा समितिसँग स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत लाइसेन्स वितरण गर्न लागेकोमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र बीमा समितिसँग स्पष्टीकरण सोधेको छ । सेबोन र बीमा समितिले लाइसेन्स वितरणको काम अगाडि बढाएका थिए ।

अहिले बैंक तथा वित्तीय क्षेत्रहरु मर्ज भइरहेका बेला आर्थिक चलखेलमा परेर अर्थमन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री दिलेन्द्र बडूले लाइसेन्स वितरण गर्ने अग्रसरता लिएको आरोप लागेको छ ।

निर्वाचन आयोगले बीमा समितिलाई निर्वाचन आचारसंहिता लागू भएपछि लाइसेन्स वितरणको काम किन अगाडि बढाएको भनेर स्पष्टीकरण सोधेको हो । बीमा समितिले भदौ १० गते लघुबीमाको लाइसेन्स खोलेको थियो ।

त्यस्तै आयोगले सेबोनलाई पनि स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि किन लाइसेन्स वितरणको काम अगाडि बढाएको भन्दै सेबोनसँग स्पष्टीकरण सोधिएको हो । सेवनले कमोडिटी एक्सचेञ्ज, स्टक एक्सचेञ्ज र शेयर ब्रोकरलगायतको लाइसेन्स वितरण गर्न लागेको थियो ।

सेबोन र बीमा समितिले निर्वाचन आचारसंहिता विपरीत गएर लाइसेन्स वितरण गर्न लागेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले आयोगमा उजुरी गरेको थियो । आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बीमा समिति र सेबोनलाई स्पष्टीकरण सोधेको बताए ।

उनले भने, ‘आचारसंहिता लागू भएपछि बीमा समितिलाई लघुबीमा र सेबोनलाई कमोडिटी एक्सचेञ्ज, स्टक एक्सचेञ्ज र शेयर ब्रोकरलगायतको लाइसेन्स वितरणको प्रक्रिया किन अगाडि बढाएको भनेर आयोगले सोधेको हो ।’

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ मा वार्षिक बजेट तथा कार्यक्रमभन्दा बाहेकका लाइसेन्स वितरण, कुनै नयाँ स्वीकृति वा सञ्चालनको अनुमति दिन नहुने व्यवस्था छ । तर, समिति र सेबोनले आचारसंहिता लागू भएपछि पनि लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएका थिए ।

आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको थियो । बीमा समितिले भदौ १० गते लघु बीमा र सेवनले कमोडिटी एक्सचेञ्ज, स्टक एक्सचेञ्ज र शेयर ब्रोकरलगायतको लाइसेन्सका लागि आवेदन असोज २ गते मागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *