पुरुष भलिबल : गण्डकी समूह विजेता – Nepal Press

पुरुष भलिबल : गण्डकी समूह विजेता

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा बाग्मती प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शुक्रबार सम्पन्न खेलमा गण्डकीले वागमतीलाई ३-१ सेटमा हरायो । हारका बावजुद पनि समूह डीमा दुई टिम मात्रै भएकाले वागमतीले क्वार्टरफाइनलमा स्थान भने पक्का गरिसकेको छ ।

आज भएको खेलमा गण्डकी र वागमतीले समूह विजेता बन्न प्रतिस्पर्धा गरेका हुन् । पहिलो सेट २५-२० ले जितेको गण्डकीले दोस्रो सेट भने १५-२५ ले वागमतीलाई सुम्पिएको थियो । तेस्रो र चौंथो सेटमा क्रमशः २५-१८ र २५-१४ ले वागमतीलाई पाजित गर्दै गण्डकी समूह विजेता बन्यो ।

शुक्रबार भएको पुरुष भलिबलको उद्घाटन खेलमा विभागीय टिम पुलिसले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । साविक बिजेता पुलिसले २५-१६, २५-१२ र २५-११ को सहज जित निकालेको हो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ ।

पुरुष भलिबलको समूह एमा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह बीमा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह सीमा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह डीमा गण्डकी र वागमती प्रदेश छन् । प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् ।

शनिबारको पहिलो खेल एपीएफ र गैरआवासीय नेपाली संघ (एनआरएनए), दोस्रो खेल त्रिभुवन आर्मी र प्रदेश १ र तेस्रो खेल पुलिस र लुम्बिनी प्रदेशबीच हुनेछ । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर