गाडी आयातको प्रतिबन्ध हटाउँदै सरकार – Nepal Press

गाडी आयातको प्रतिबन्ध हटाउँदै सरकार

काठमाडौं । सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । गएको वैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा प्रतिबन्ध लागेको थियो । सरकारले सवारीसाधनसहित १० वटा वस्तुमा प्रतिबन्ध लगाएको थियो ।

विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै आयात प्रतिबन्ध लगाएको सरकारले अन्य वस्तुको आयात प्रतिबन्ध भने हटाइसकेको छ । यस्तै भदौ १४ गते एम्बुलेन्सबाहेकका निजी गाडी, ३ सय डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका मोटरसाइकल र मदिरा आयातमाथि प्रतिबन्ध यथावत राखिएको थियो ।

आयात प्रतिबन्धको निर्णय मन्त्रिपरिषदबाट हुन्छ । सोको सूचना राजपत्रमा प्रकाशित गरिन्छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार अहिले चार वस्तु आयातमा प्रतिबन्ध छ । जुन असोज २८ गतेसम्म कायम रहनेछ ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार अर्थमन्त्री जनार्दन शर्मा गाडी आयात खुलाउने पक्षमा छन् । तर, उद्योग तथा वाणिज्य मन्त्रालयसँग आयात प्रतिबन्ध लगाउने विषयमा अहिलेसम्म छलफल भएको छैन । अहिले अर्थमन्त्री अमेरिकामा छन् ।

अर्थमन्त्री शर्माले ईभी नाडा अटोसोमै भनेका थिए, ‘विदेशी मुद्रा सञ्चिती कम भएपछि केही वस्तु आयातमा प्रतिबन्ध लगाउनुपरेको थियो । अब अर्थतन्त्रका सूचकहरु राम्रा भएका छन् । यो निर्णयलाई सरकारले पुनर्विचार गर्नुपर्नेछ ।’

उद्योग वाणिज्य मन्त्रालयका अधिकारीका अनुसार असोज २८ अगावै मन्त्रिपरिषदले कुनै निर्णय गरेन भने प्रतिबन्ध स्वतः फुकुवा हुनेछ ।

कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तु, हीरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, खेलौना, तासको आयात खुलिसकेको छ ।

सरकारले आयात प्रतिबन्ध गर्दा सरकारकै राजस्वमा समेत धक्का लागेको छ । व्यापारीहरुले आयात प्रतिबन्धका कारण सरकारको राजस्व गुमेको र व्यापारीले पनि व्यापार गर्न नपाएको भन्दै आयात खुलाउन माग गरिरहेका छन् । आयात प्रतिबन्ध गर्दा नाडाले यसपटक सवारीसाधनको एक्स्पो गर्न सकेन । तर, विद्युतीय सवारीसाधनको भने पहिलोपटक एक्स्पो भयो ।

अर्थमन्त्री शर्माले सवारीसाधनको आयात खुल्ने सिग्नल विभिन्न सार्वजनिक कार्यक्रममै दिँदै आएका छन् ।

कति छ नेपालसँग विदेशी मुद्रा ?

विदेशी मुद्राकै कारण देखाएर आयात प्रतिबन्ध गरेको नेपालसँग अहिले करिब १२ खर्ब विदेशी विनिमय सञ्चिती रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अर्थमन्त्री शर्माले सरकारले लिएको नीतिकै कारण पछिल्लो समय आयात घटेको बताउँदै आएका छन् । भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षको दुई महिनामा आयात १३.०१ प्रतिशतले घटेको छ । यद्यपि दुई महिनामै नेपालले पौने ३ खर्बको वस्तु आयात गरिसकेको सरकारकै तथ्यांक छ । आयात प्रतिस्थापन र निर्यात वृद्धि सरकारको प्राथमिकतामा भए पनि त्यसका लागि पूर्वाधारहरु तयार हुनसकेको छैन ।

नेपालमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थको विस्थापनमा विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले आह्वानसमेत गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *