हालान्डले ह्याट्रिक नगरेकोमा गार्डिओ‌लाको ठट्टा- उनलाई प्रिमियर लिगबाट हटाउनुपर्छ – Nepal Press

हालान्डले ह्याट्रिक नगरेकोमा गार्डिओ‌लाको ठट्टा- उनलाई प्रिमियर लिगबाट हटाउनुपर्छ

लन्डन । एर्लिङ हालान्डको आगमनपछि सबैभन्दा बढी उत्साही देखिन्छन् म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओला । म्यान सिटीलाई पहिलोपटक च्याम्पियन्स लिगको विजेता बनाउन हालान्डको निर्णायक भूमिका रहने उनको विश्वास छ ।

सन् २०१६ मा म्यान सिटीको प्रशिक्षण सम्हालेयता गार्डिओलाले चारपटक घरेलु लिगको उपाधि जिते पनि च्याम्पियन्स लिग हात पार्न सकेका छैनन् । प्रशिक्षकका रुपमा उनले सन् २०११ पछि च्याम्पियन्स लिग जित्न सकेका छैनन् । तर, यसपटक हालान्डको जादुमयी प्रदर्शनले गार्डिओलाको आत्मविश्वास बलियो बन्दै गएको देखिन्छ । हालान्डले म्यान सिटीका लागि पछिल्ला १० खेलमा लगातार गोल गरेका छन् ।

घरेलु लिगमा शनिबार राति साउथह्याम्पटनलाई ४-० गोलले हराउँदा हालान्डले एक गोल गरे । म्यान सिटीको मैदानमा भएको खेलमा हालान्डले अन्तिम गोल गरेका थिए । त्यसअघि म्यान सिटीले घरेलु मैदानमा खेलेका पछिल्ला तीन लिग खेलमा हालान्डले लगातार ह्याट्रिक गरेका थिए ।

‘म उनीप्रति निराश छु । किनभने उनले तीन गोल गरेनन् । त्यही कारण उनलाई प्रिमियर लिगबाट हटाउन हस्ताक्षर सकंलन भइरहेको छ’, साउथह्याम्पटनसँगको जीतपछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा गार्डिओलाले ठट्टा गरे ।

२२ वर्षीय हालान्डले यो सिजन क्लबका लागि १३ खेलमा २० गोल गरिसकेका छन् । गार्डिओलाले हालान्डसँग अपेक्षा धेरै गरेको पनि बताए । भने, ‘हालान्डसँग मानिसहरुको अपेक्षा यति बढिरहेको छ कि उनले हरेक खेलमा ३/४ गोल गर्छन् भनेर आशा गरिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर