अहिले अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गएका छन्
अहिले हाम्रा आर्थिक सूचकाङ्कहरू सकारात्मक हुँदै गएका छन् । सकारात्मक हुँदै गरेको आर्थिक सूचकाङ्कले भनेको छ सरकारले सही नै निर्णय गरेको थियो । अब ती निर्णयलाई नयाँ ढङ्गले संशोधन गर्नु जरुरी छ । रुस र युक्रेनको युद्ध भएपछि थाहा भयो की हामीले कहाँको तेल खान्छौ भनेर । यस कारण विभिन्न देशसँग अन्तनिर्भर भएकाले महामारीले, प्रकोपले पार्ने प्रभाव हुँदा हुँदै पनि हामीले हाम्रो अर्थतन्त्रलाई कसरी बचाउन सक्छौ, कसरी अगाडी बढाउन सक्छौ भनेर सबैले आफ्नो आफ्नो ठाउँबाट तयारी गर्ने बेला आएको छ । त्यसको तयारीमा सरकार निजी क्षेत्र जनता सबै हुनुपर्छ । जुनसुकै चुनौती आए पनि हामी आफै बाच्न सक्छौ भन्ने स्थानमा पुर्याउनुछ । त्यस कारणले अहिलेको सरकारको नीतिले स्पष्ट गरेको छ की अबको कार्यदिशा उत्पादन वृद्धि हो, आयात प्रतिस्थापन हो । हाम्रा स्रोत साधन, हामीसँग भएको जनशक्ति र हामीसँग भएको पुँजीको परिचालन गर्यौ भने जुनसुकै सङ्कट आउँदा पनि थेग्न सक्छौ । अहिलेको सरकारको कार्यदिशा र भावी कार्यदिशा पनि यही हो । जनता तथा व्यवसायीलाई हतोत्साहित हुन नदिन कतिपय कामहरूमा मनोवैज्ञानिक ट्रिट पनि दिइएको थियो । उनीहरूबाट सजगता अपनाउनु थियो ।
हाम्रो कुरा निजी क्षेत्रलाई अप्ठेरो पार्ने कुरा होइन । सरकारको केही निर्णयले सरकारलाई राजस्वमा कमी भएको अवस्था छ । यो त जनताको सम्पत्ति हो । नयाँ परिस्थित आउँदा केही समयका लागि गरिएको थियो । ती कुराको समाधानका लागि नयाँ ढंगबाट अगाडी बढ्छौ । रेमिटेन्स वृद्धि हुँदै गइरहेको अवस्था छ । म उत्तर कोरियामा भर्खरै गएर आएको हो । त्यहाँका नेपालीलाई भेटे । उहाँहरूले कमाउने गरेको मुस्किलले ४० प्रतिशत रकम मात्र नेपालमा आउँदो रहेछ । त्यसका लागि नेपालीसँग कसरी रेमिटेन्स पठाउने भन्ने छलफल भयो । हामी रेमिटेन्स पठाउँछौ भन्नु भएको छ । पठाउने संयन्त्र हामीले तयार गर्नुपर्नेछ ।
विद्युत् निर्यात गर्ने वस्तु होइन, उत्पादनमा लगाउनुपर्छ
निर्यातमा आँकडा देखिने खालको निर्यात आवश्यक छ । निर्यात बढाउन ८ प्रतिशत अनुदान दिएका छौ । यसको कार्यविधि अन्तिम चरणमा छ । यो आर्थिक वर्ष लागु भएदेखि नै अनुदान पाउनेछन् । विद्युत् पनि निर्यात भइरहेको छ । तर म विद्युत् निर्यात गर्नुपर्छ भन्ने पक्षधरको होइन । विद्युत् भनेको निर्यात गर्ने वस्तु होइन, यसलाई उत्पादनमा लगाएर उत्पादित वस्तु निर्यात गर्नुपर्ने हो । विद्युतबाटै हाइड्रोजन एमोनिया उत्पादन गरेर निर्यात गर्ने हो । अब नेपालको दिन आएको छ । हिजो हामी पेट्रोलियम पदार्थ नपाएर हाहाकार भएको अवस्थामा अबको पाँच वर्ष भित्र हाइड्रोजन उत्पादन गरेर निर्यात गर्छौ । यसमा छलफल भइरहेको छ । लगानी पनि गर्छौ भनेर लगानीकर्ताहरू आएका छन् ।
पहिले आफ्नो मागलाई पुरा गर्ने र त्यसपछि प्रतिस्पर्धी र तुलनात्मक रूपले सस्तो हाइड्रोजन बनाउन सक्ने अवस्था छ । तत्काल हामीले सिमेन्ट, स्टिल, पानी लगायतका वस्तुहरूलाई ठुलो आँकडामा निर्यात गर्न सक्यौ भने त्यसबाट आउने विदेशी मुद्रा व्यवसायीलाई दिन सक्छौ र उहाँहरूले व्यवसाय गर्न सक्छन् । उत्पादन गर्ने व्यवसायबाट न्यूनतम ४० प्रतिशत राज्यलाई आउँछ । हरेक उत्पादन गर्ने व्यवसायबाट कर, भ्याट, भन्सार गर्दा ४० प्रतिशत राज्यलाई आउँछ त्यो जनताको सम्पत्ति हो । निर्यात वृद्धिमा सबैलाई आव्हान गर्न चाहन्छु ।
प्रपोजल लेखेर अनुदान खाने दिन गए, अनुदान होइन प्रोत्साहन
कृषिका विभिन्न क्षेत्रलाई प्रोत्साहन गरेर अघि बढ्न कृषिको अनुदान हटाइएको छ । कृषिलाई अनुदान होइन प्रोत्साहनको व्यवस्था गरिएको छ । प्रोत्साहन उत्पादन गर्नेले पाउने हो । बिचमा प्रोपोजल लेख्नेले पाउने होइन । प्रोपोजल लेखेकै भरमा अनुदान खाने युगको अन्त्य भएको छ । कृषिलाई औद्योगिकीकरण गर्ने, सबै साना साना उद्योग स्थापना गर्ने र ठुला उद्योग पनि स्थापना गर्दै हामी औद्योगिक विकास तिर जानु जरुरी छ । अहिले पनि आयातमै निर्भर छ । नेपालमै राम्रो भन्दा राम्रो चामल उत्पादन गर्न सक्छौ । बासमतीको बाउ धान चामलको बिउ यहाँ छ । आयातलाई रोक्न धान मकै गहुँ, हरियो तरकारी, आलुमा कसरी आत्मनिर्भर हुने भन्ने सोच छ । माछा नेपालमै उत्पादन भइरहेको छ तर नाकाबाट आइरहेको छ भन्ने गुनासो पनि छ । खुला सिमानाका चुनौती पनि छन् । राज्यको नीति भनेको उत्पादन वृद्धि र आयात प्रतिस्थापन हो ।
केही पनि उत्पादन नगर्ने अनि महँगो भयो भन्न मिल्छ ?
यहाँ मोटरसाइकल एसेम्बल गर्ने उद्योगहरू पक्कै पनि खुलेको हुनुपर्छ । तर व्यवसायीले मलाइ भनेका छैनन् । खुल्नुपर्ने हो भन्ने मेरो अनुमान छ । गत वर्षको प्रतिस्थापन विधेयकबाट ल्याएको नीतिले त्यसलाई पक्कै पनि अगाडी बढाएको होला । हुन त एक दुई जनाले यो कुरा झन् महँगो पर्यो भन्नु भयो । महँगो यस कारण पर्योकी उहाँ फिट गर्ने त्यही खोलेर ल्याएर यहाँ फिट गर्दा महँगो पर्न गएको हो । यहाँ कतिपय कुराहरू बनाउनुपर्यो नि । उत्पादन नगर्ने अनि यही ल्याएर फिट गर्दा महँगो परिहाल्छ नि । अहिले इभि गाडी बनाउन भन्दै लगानी बोर्डमा व्यवसायीको आवेदन परेको छ । लगानी बोर्डले त्यसलाई अन्तिम चरणमा पुर्याएको छ । आवश्यक सहुलियत दिँदै छ । सबै उद्योगी मिलेर एउटै उद्योग बनाऊँ वा १० जना मिलेर १० उद्योग बनोस् तर नेपालमा बनोस् र उत्पादन होस । त्यसको लागि ब्याज, बिजुली, भन्सार कहाँ मदत चाहिन्छ सरकार तयार छ । सरकारले सहयोग गरेको पनि छ । नपुग्नेले पुगेन भनुन् ।
पेट्रोलियम पदार्थका लागि बाहिरिने ३ खर्ब तत्काल बचाउन सकिने अवस्था छ
व्यापार घाटा कम गर्न कम्तीमा पेट्रोलियम पदार्थको लागि बाहिरिने ३ सय अर्ब मात्र पनि बचाउन सकिने अवस्था हामीसँग छ । विद्युतीय सवारीमा बजेटले जोड दिएको छ । अब हरेक तारे होटेलमा चार्जिङ स्टेशन, पार्किङ गर्ने ठाउँ भएका होटेलमा पनि चार्जिङ स्टेशन बनाउन निर्देशन दिन चाहन्छु । उत्पादन क्षेत्रलाई २ प्रतिशत कम ब्याज दिने विषयलाई कार्यान्वयनमा लैजानु छ ।
(अर्थमन्त्री जनार्दन शर्माले इभि अटोशोमा राखेको विचारको सम्पादित अंश )