अर्थतन्त्रको अवस्थाबारे विश्लेषण गर्न अर्थमन्त्री शर्माद्वारा सुझाव समिति गठन – Nepal Press

अर्थतन्त्रको अवस्थाबारे विश्लेषण गर्न अर्थमन्त्री शर्माद्वारा सुझाव समिति गठन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्थाबारे विश्लेषण गरी एक हप्ताभित्र सुझाव दिन सुझाव समिति गठन गरेका छन् । आज अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।

समितिका सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधि, राष्ट्रिय योजना आयोगको प्रतिनिधि, नेपाल राष्ट्र बैंकको प्रतिनिधि, नेपाल बैंकर्स संघका २ जना प्रतिनिधि निजी क्षेत्र अन्तर्गत उद्योग वाणिज्य महासंघबाट ३ जना प्रतिनिधि रहनेछन् । समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित ७ दिनभित्र प्रतिवेदन बुझाउने मन्त्रालयले जनाएको छ ।

यसैविच मन्त्री शर्माले समिति गठन गर्नुअघि आइतबार मन्त्रालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल बैंकर्स संघलगायत सरोकारवाला निकायका प्रतिनिधिसँग नेपालको आर्थिक अवस्थाको बारेमा छलफल गरेका छन् ।

बैठकमा अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे । अर्थतन्त्रमा देखिएको असहजता कुनै एक निकायको मात्र समस्या नभएर समग्र मुलुकको समस्या भएको भन्दै यसमा कसैलाई दोष लगाएर पन्छिन नहुने बताए ।

उनले भने, ‘यो समस्याको समाधान सबै पक्ष बसेर छलफल गरी समाधानको उपाय निकाल्नुपर्छ । कुनै एकलाई दोष लगाएर होइन, मिलेर जानुपर्छ ।’ मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटमा किसान तथा साना उद्योगलाई प्रोत्साहन हुने गरी व्यवस्था गरिएको दोहोर्याउदैँ कार्यान्वयनमा तदारुकता दिन सम्बन्धित निकायलाई आग्रह गरे ।

पछिल्लो समय बैंकले ब्याज वृद्धि गरेको गुनासो आफ्नो जिल्ला भ्रमणका क्रममा व्यवसायीले गरेकोबारे ध्यानाकर्षण भएको बताउदौ उनले साना उद्यमीलाई सहुलियतमा ऋण उपलब्ध गराउन पनि आग्रह गरे । उनले भने ‘किसान तथा साना उद्यमीलाई प्रोत्साहन नगरीकन अर्थतन्त्र सुधार हुँदैन । यसबारे बजेटले पनि स्पष्ट बोलेको छ ।’

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकले गरेको निर्णयले उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गरेका थिए । उनले सबै निकायसँग सहकार्य गरेर हाल देखिएको असहज परिस्थितिको सामना गर्न निजी क्षेत्र कटिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *