रमेश हमाललाई प्रश्न- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स धनाढ्यको हातमा दिन लागिएको हो ? – Nepal Press

रमेश हमाललाई प्रश्न- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स धनाढ्यको हातमा दिन लागिएको हो ?

काठमाडौं । नेपाल धितोपत्रबोर्डले चुनावको मुखैमा लाइसेन्सका लागि आवेदन माग गरेको भन्दै यसमा बोर्डका अध्यक्षको स्वार्थ देखिएको टिप्पणी भइरहेको छ ।

नयाँ स्टक एक्सचेन्ज केही व्यापारिक घरानालाई दिनका लागि तुरुन्तै नियमावली पास गराएको भन्दै बोर्डका अध्यक्ष रमेश हमालको आलोचना भइरहेको छ । यसमा साहिल अग्रवाल, शेखर गोल्छा, चन्द्र ढकाल र राजेन्द्र खेताङजस्ता व्यवसायीले लबिङ गरिरहेको चर्चाका बीच हामीले धितोपत्र बोर्डका अध्यक्ष हमालसँग केही सवाल राखेका छौं ।

चर्चामा रहेका यीनै व्यापारीलाई लाइसेन्स दिन लागिएको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा अध्यक्ष हमालले यसमा कुनै सत्यता नभएको बताए । उनीहरूको कुनै पनि लबिङ बोर्डमा आइनपुगेको हमालको भनाइ छ ।

सबै प्रक्रिया पूरा गर्दा चुनावपछि मात्र लाइसेन्स वितरण हुने हमालको भनाइ छ । उनले भने, ‘मेरो कार्यकाल अब १६ महिनाको मात्र छ । चुनावपछि आवेदन माग गरेको भए कार्यकाल सकिने बेला लाइसेन्स बाँडेर गयो भन्छन् भनेरै चुनावपछि र कार्यकाल सकिनुअघि नै लाइसेन्स दिने गरी तयारी गरेको हो ।’

उनले चुनाव खर्च उठाउन निश्चित व्यापारिक घरानालाई लाइसेन्स दिन लागेको आरोप उनले अस्वीकार गरे । ‘पहिलेदेखिनै लाइसेन्स दिन पहल गरेको भएपनि अहिले म आएपछि चुनाव आउने बेला संयोगवस नियमावली पारित भयो’, हमालले भने ।

तर, जुनसुकै क्षेत्र सीमित धनाढ्यको हातमा रहेको बताउँदै उनले थपे, ‘तिनै व्यक्तिको बजारमा वर्चस्व छ । कतै न कतै तीनिहरू पर्छन् । मापदण्ड पुर्‍याएर आए बजारमा हल्ला छ तिमीहरूलाई दिन्न भन्न मिल्दैन ।”

केही दिनअघि बोर्डले एउटा स्टक एक्सचेन्ज, २ वटा वस्तु विनिमय कारोबार गर्ने कम्पनी र ब्रोकरलाई लाइसेन्स दिन आवेदन माग गरेको थियो । स्टक एक्सचेन्जको आवेदनका लागि ४५ दिनको समय दिइएको छ । यता ब्रोकरको संख्या भने खुलाइएको छैन् । ब्रोकरमा कोटा प्रणाली खुला बजार अर्थतन्त्रका लागि सुहाउँदो नभएकाले संख्या नतोकिएको हमालले बताए । प्रतिस्पर्धाको आधारमा मापदण्ड पुगेका सबैले लाइसेन्स पाउने बोर्डले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *