शान्ति सेनामा जान राष्ट्रिय टीमबाट सन्न्यास लिँदै दीपा, इन्दिरा र पुनम – Nepal Press

शान्ति सेनामा जान राष्ट्रिय टीमबाट सन्न्यास लिँदै दीपा, इन्दिरा र पुनम

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमका तीन खेलाडीले जारी साफ च्याम्पियनसिपको फाइनलपछि सन्न्यास लिने भएका छन् । डिफेन्डर पुनम जर्घा मगर, मिडफिल्डर इन्दिरा राई र दीपा राईले फाइनल खेलपश्चात सक्रिय खेल जीवनबाट विश्राम लिने निर्णय गरेका हुन् ।

राष्ट्रिय टीममा नियमित स्थान बनाइरहेका यी खेलाडीले सन्न्यास लिनुको पछाडि एउटै कारण छ– उनीहरु आफ्नो करिअर र भविष्यको सुनिश्चितता । नेपालमा हरेक खेलाडी सक्रिय खेल जीवनपछिको भविष्यलाई लिएर चिन्तित हुने गर्छन् । यही चिन्ताका कारण कैयौं खेलाडी विदेश पलायन भइरहेका छन् । कोही खेल नै छोडेर अन्य व्यवसायमा लाग्छन् । यी तीन फुटबलरहरुको चाहिँ अर्कै उद्देश्य छ ।

त्रिभुवन आर्मी क्लबमा आवद्ध तीनैजना खेलाडी शान्ति सेनामा जाने तयारीमा छन् । भविष्यको सुनिश्चितताका लागि उनीहरुले खेलभन्दा सेनाको जागिरलाई प्राथमिकतामा राखेका हुन् ।

तीनमध्ये पुनम अहिले राष्ट्रिय टीमका खम्बा जस्तै हुन् । सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनसीपमा श्रीलंकाविरुद्धको खेलबाट राष्ट्रिय टीममा डेब्यू गरेकी उनले आजको फाइनलबाहेक राष्ट्रिय टीमका लागि ३८ खेल खेलिसकेकी छन् ।

आठ वर्ष नियमित रुपमा नेपाली राष्ट्रिय महिला टीमको रक्षापंक्ति सम्हालेकी पुनम अझै केही वर्ष टीममा स्थान बनाइराख्ने सम्भावना बोकेकी खेलाडी हुन् । उनलाई पनि लाग्छ आफू अझै केही वर्ष खेल्न सकिन्छ । तर, लामो समय नखेलेर पुनरागमन गर्न गाह्रो हुने भएकाले अब नयाँ खेलाडीलाई अवसर दिन साफकै बेला नेपाली दर्शकमाझ सन्न्यास लिन लागेको उनले बताइन् ।

‘अझै खेल्न सक्छुजस्तो लाग्छ । तर, एक वर्ष शान्ति सेनामा व्यस्त भइन्छ । त्यसबीचमा टे«निङ गर्न पाइँदैन । सबै सोचेजस्तो हुँदैन । नयाँ खेलाडीहरु आइरहेका छन्, उनीहरुलाई पनि पालो दिनुपर्छ अब । खासै भविष्य पनि देख्दिनँ । उमेर पनि ढल्किँदैछ । आर्मीमा भने राम्रो हुन्छ’, पुनमले भनिन् ।

उनी थप्छिन्, ‘मैले धेरै समय खेल्छु जस्तो पनि लागेको थिएन । यत्तिका समय खेलें, म राम्रो तरिकाले पुस्ता हस्तान्तरण होस् भन्ने चाहन्छु र मेरो बिदाइ पनि राम्रासँग होस् भन्ने चाहन्छु ।’

राष्ट्रिय टीममा रहेका रौतहटका सातमध्ये एक खेलाडीमा पर्छिन्, २९ वर्षीया पुनम । उनले १४ वर्षको उमेरदेखि नै फुटबल खेलेकी हुन् । त्यस वेला आयोजना हुने स्कुलस्तरीय प्रतियोगिता कोकाकोला कपमा पुनम सम्मिलित टीम प्रथम भएको थियो । त्यसपछि धनगढीमा आयोजना भएको पाँचौं राष्ट्रिय खेलकुदमा उनले मध्यमाञ्चलबाट खेलेकी थिइन् ।

विभागीय क्लब आर्मीले भर्खरै टीम बनाउन सुरु गरेको वेला थियो त्यो । उनलाई कृष्णसिंह ठगुन्नाले आर्मीबाट खेल्न बोलाएका थिए । पहिलोपटक उमेर नपुगेकाले उनी भर्ती हुन सकिनन् । २०६९ असार १५ मा पुनम आर्मीमा भर्ती भइन् ।

आर्मीमा भर्ती भएको डेढ वर्षमा उनले राष्ट्रिय टीममा स्थान बनाएकी थिइन् । प्रशिक्षक कुमार कटुवालले उनलाई राष्ट्रिय टीमसम्मको बाटो देखाएका थिए ।

यस्तै अर्की खेलाडी दीपा राईको पनि पुनमको जस्तै कथा छ । कोकाकोला कपबाटै फुटबल यात्रा सुरु गरेकी दीपाले आर्मी क्लब हुँदै राष्ट्रिय टीमसम्मको यात्रा तय गरिन् । सन् २०१४ को साफमा घरेलु टीम पाकिस्तानविरुद्धको खेलमा दीपाले डेब्यू गरेकी थिइन् । त्यसपछि उनी सधैं राष्ट्रिय टीममा परेकी छन् ।

दीपाले ३६ खेल खेल्दै एक गोल गरेकी छन् । २९ वर्षीया दीपालाई यत्तिका वर्ष राष्ट्रि«य टीमबाट खेलेपछि यत्तिकै हराउनुभन्दा औपचारिक सन्न्यास लिन मन छ, ताकि धेरैले पछिसम्म सम्झिरहून् ।

‘राष्ट्रिय टीमबाट खेल्न मन नलागेर होइन, जागिर खाएपछि जानैपर्छ भनेर हो । यतिका वर्ष राष्ट्रका लागि खेलियो, यत्तिकै हराउनुभन्दा सन्न्यास लिएर गएको राम्रो हुन्छ जस्तो लाग्यो । अझ घरेलु मैदानमा दर्शकलाई साक्षी राखेर बिदा हुन पाउँदा मन आनन्दित हुन्छ’, उनले भनिन् ।

इन्दिरा भन्छिन्, ‘एक वर्ष गइन्छ, हामी फर्किंदा फुटबल कहाँ पुगिसकेको हुन्छ । खेल्न नसक्ने भएर होइन, जाने भएपछि फुटबल यात्रालाई बिट मारौं भनेर हो । अझ घरेलु मैदानमा घरेलु दर्शकबीच सन्न्यास लिँदा बेग्लै मज्जा हुन्छ ।’

२९ वर्षीय इन्दिराले मोरङको लेटाङ ९ जाँतेदेखि राष्ट्रिय टीमसम्मको यात्रा तय गरेकी छन् । सानैदेखि फुटबल खेल्ने उनी क्षेत्रीय प्रतियोगिता हुँदै आर्मीसम्म पुगेकी हुन् । उनले राष्ट्रिय टीमबाट पाँच खेलमात्रै खेलेकी छन् ।

सन् २०१८ मा चीनमा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टीममा डेब्यू गरेकी इन्दिराले छोटो समयमै आफ्नो फुटबल करियरलाई बिट मार्ने निधो गरेकी छन् ।

खैर, सन्न्यास र डेब्यू खेल जीवनमा चलिरहन्छ । तर, फाइनलमा नेपालले नयाँ इतिहास बनाउने अवसर छ । बंगलादेशलाई हराएर उपाधि उचाले यी तीन खेलाडीको सन्न्यास निकै विशेष र अविस्मरणीय बन्ने निश्चित छ । १२ वर्ष लामो साफ इतिहासमा भारतलाई सेमिफाइनलमा हराएर फाइनल पुगेको खुशीले थप सार्थकता पाउनेछ । पुनम, दीपा र इन्दिराले पनि पक्कै सुखद बिदाइ पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर