चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस गर्दै समितिले बुझायो प्रतिवेदन – Nepal Press

चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस गर्दै समितिले बुझायो प्रतिवेदन

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन सिफारिससहित समितिले प्रतवेदन बुझाएको छ । महाअभियोग लगाउन ९ बुँदे आधार र कारण उल्लेख गरेर केहीबेरअघि सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाइएको हो । दुई बुँदे सुझाव पनि समितिले दिएको छ ।

फागुन २२ मा महाभियोग सिफारिस समितिले आज प्रतिवेदन तयार पारेर बुझाएको हो । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा प्रतिवेदन बुझाउँदा एमाले र लोसपाका सांसद भने उपस्थित थिएनन् ।

जबरामाथि केही विषयमा अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ । त्यसका लागि यस संसदमा समय अपुग भएकाले अर्को प्रतिनिधिसभाको बैठकमा पेस गरी टुंगो लगाउन सुझाव दिइएको छ ।

त्यस्तै सर्वोच्चको भवन निर्माणमा अनियमितता गरेको र विभिन्न मुद्दामा आर्थिक लेनदेन गरी अकूत सम्पत्ति कमाएको भन्दै अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा लेखी पठाउन पनि समितिले सिफारिस गरेको छ ।

महाअभियोग सिफारिस समितिका ११ सदस्यमध्ये प्रतिवेदन पारित गर्न दुईतिहाइ पुगेन । सत्ताधारी ६ सांसद महाअभियोगमा पक्षमा उभिएका छन् भने एमाले र लोसपाका गरी ५ सांसदले प्रतिवेदनउपर फरक मत राख्दै असहमति जनाएका छन् । एमालेले ८ बुँदामा ‘नोट अफ डिसेन्ट’ लेखेको छ ।

आजको बैठकपछि समिति सदस्य रहेका एमाले नेता विष्णु पौडेलले प्रमाणहरू अपुरो रहेको र नपाइएको भन्दै महाअभियोगलाई सत्तागठबन्धनले खेलाचीका रुपमा लिएको आरोप लगाए ।

उनले महाअभियोगलाई ६ महिनासम्म होल्ड गर्नुको कारण, सिफारिस समितिलाई ३ महिना समय नदिनुनको कारण पनि सोधेका छन् । यो सवाल सभामुखसमक्ष पनि आफूहरूले राखेको बताउँदै पौडेलले गठबन्धनका सदस्य र सभामुखबाट चित्तबुझ्दो जवाफ नपाएको बताए ।

प्रतिक्रिया

One thought on “चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस गर्दै समितिले बुझायो प्रतिवेदन

  1. बुँदा हेर्दा महाअभियोग लगायत सबै अभियोग लगाउनुपर्ने चाहिँ महाअभियोग लगाउने साँसद, बारका पदाधिकारी, केही बरिष्ठ भनिएका दलाल वकिल, पूर्व न्यायाधिश र प्र.न्या. देखिए । चोलन्द्रलाई होईन तिनलाई महाअभियोग लगाउ अन्यथा अदालत गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर