साफ यू- १७ च्याम्पियनसिप : फाइनलमा भिड्दै नेपाल र भारत, के छ दुई सदाबहार प्रतिद्वन्द्वीको विगत ? – Nepal Press

साफ यू- १७ च्याम्पियनसिप : फाइनलमा भिड्दै नेपाल र भारत, के छ दुई सदाबहार प्रतिद्वन्द्वीको विगत ?

काठमाडौं । श्रीलंकामा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- १७ च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र भारत भिड्दैछन् । नेपालले समूहगत चरणमा भारतलाई ३-१ गोलले हराएको थियो ।

समूहका दुवै खेल जितेको नेपालले सेमिफाइनलमा श्रीलंकालाई ६-० गोलले पराजित गरी फाइनलमा स्थान बनाएको हो । साफले यू- १५ र यू- १६ च्याम्पियनसिपलाई गाभेर यसपटकदेखि यू- १७ च्याम्पियनसिप आयोजना गर्न थालेको हो ।

कुनै पनि उमेरस्तरको साफ च्याम्पियनसिपमा नेपाल र भारत पहिलोपटक भिड्न लागेका भने होइनन् । यसअघि गत वर्षमात्र नेपाल पुरुषतर्फ सिनियर साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग भिडेको थियो । पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली टोली भारतसँग ३-० गोलले पराजित भएको थियो ।

सन् २०१५ मा भएको पहिलो साफ यू- १९ च्याम्पियनसिपको फाइनलमा पनि नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला नेपाली टोलीले भारतलाई टाई ब्रेकरमा पराजित गर्दै उपाधि हात पारेको थियो । सन् २०१७ मा भएको साफ यू- १९ च्याम्पियनसिप नेपालले राउन्ड रोबिन लिगमा शीर्षस्थानमा रहेर जितेको थियो ।

सन् २०१३ मा भएको साफ यू- १६ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग १-० गोलले पराजय भोगेको थियो । सन् २०१७ मा भएको साफ यू- १५ च्याम्पियनसिपमा पनि नेपाल र भारत भिडेका थिए । त्यतिबेला नेपाल उपाधि भिडन्तमा २-१ गोलले पराजय भोगेको थियो ।

नेपालले हालसम्म साफका यू- १५, यू- १६ र सिनियर च्याम्पियनसिप जित्न सकेको छैन । साफ महिला च्याम्पियनसिपमा पनि पाँचमध्ये चार संस्करणको फाइनल पुगेको नेपाली टोली ती सबै उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर