वरिष्ठ खेल पत्रकार गौतमलाई एनएसजेएफ पत्रकारिता अवार्ड – Nepal Press

वरिष्ठ खेल पत्रकार गौतमलाई एनएसजेएफ पत्रकारिता अवार्ड

काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को २७औं स्थापना दिवसको अवसरमा सोमबार एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम र सुमन बम्जन युवा पत्रकारिताबाट गीता राई सम्मानित भएका छन् ।

मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १र१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७औं स्थापना दिवस मनाउने क्रममा मञ्चले एक जना अग्रज र युवा खेल पत्रकारलाई सम्मान गर्‍यो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी(एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । जयदेवलाई नगद २५ हजार रुपैयाँ र युवा पत्रकार गीतालाई एक थान ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।

एनएसजेएफ पत्रकारिता अवार्डबाट सम्मानित जयदेव गौतमले करिब तीन दशकको खेल पत्रकारिता यात्रालाई स्मरण गराएकोमा मञ्चलाई धन्यवाद व्यक्त गर्दै पछिल्लो समय नेपाली खेल पत्रकारिताले फड्को मारेको बताए ।

‘हाम्रो समयमा औंलामा गणना गर्न सकिने खेलपत्रकार थियौं । तर, पछिल्ला समय धेरै पत्रकार नेपाली खेलकुदमा सक्रिय छन् र यसले नेपाली खेलकुद पनि विकास हुँदै गएको बुझ्न सकिन्छ’, उनले भने, ‘खेलका विश्लेषणात्मक र अनुसन्धानात्मक समाचार लेखनमा अग्रसर भइरहन सबै खेल पत्रकारलाई आग्रह गर्न चाहन्छु । यसले नेपाली खेल पत्रकारितालाई अझ सम्मानित स्थानमा पुर्‍याउनेछ ।’ लामो समय कान्तिपुर दैनिकमा बिताएका गौतमले सौर्य दैनिकमा स्थापना कालदेखि केहि समय काम गरेका थिए ।

सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रंशसा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *