सन्दीपको प्रतिक्षामा प्रहरी, चतुर भन्छन्- जमैकाबाट हिँडिसके – Nepal Press

सन्दीपको प्रतिक्षामा प्रहरी, चतुर भन्छन्- जमैकाबाट हिँडिसके

काठमाडौं । जबरजस्ती करणीको आरोप खेपिरहेका नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछाने अहिले नेपाल प्रहरीबाट ‘वारेन्टेड’ छन् । क्रिकेट लिग खेल्ने सिलसिलामा जमैकामा रहेका लामिछाने नेपाल फर्किने प्रतिक्षामा छ प्रहरी ।

एक किशोरीले जबरजस्ती करणीमा जाहेरी दिएपछि सन्दीपले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू केही दिनमा नेपाल आउने बताएका थिए । उनले आफूमाथि लागेका आरोपहरुको खण्डन गरेका छन् । २४ भदौमा उनले सो स्टाटस लेखेपछि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गर्ने तयारीका साथ बसेको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी दानबहादुर कार्कीले सन्दीप कहिले नेपाल आइपुग्छन् भन्ने एकिन जानकारी नरहेको बताए ।

कार्कीले भने, ‘उनले आफैं नेपाल आउने र आफूमाथि लागेको आरोपको कानूनी प्रतिवाद गर्ने बताएपछि हामीले उनलाई झिकाउनका निम्ति कुनै कसरत गरेनौं । इन्टरपोललाई पनि भनिएको छैन । उनी आफैं आएर कानूनलाई सघाउनेमा आशावादी छौं ।’

जिल्ला अदालत काठमाडौंबाट गत विहिबार पक्राउ पूर्जि लिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै नाकामा पक्राउ आदेश पठाएको छ । अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखिसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप नेपाल आउन जमैकाबाट हिँडिसकेको जानकारी पाएको बताए । ‘आजभोलि उनीसँग कुरा भएको छैन, तर उताबाट हिँडिसकेको भन्ने जानकारी पाएको छु’, चन्दले भने । उनले आफू भर्खरै दुबइबाट फर्किएकाले थप जानकारी लिन नभ्याएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर