नयाँ स्टक एक्सचेन्ज व्यापारीलाई दिन लागिएकै हो त ? संशोधित नियमावलीमा छैन स्पष्ट – Nepal Press

नयाँ स्टक एक्सचेन्ज व्यापारीलाई दिन लागिएकै हो त ? संशोधित नियमावलीमा छैन स्पष्ट

काठमाडौं । धितोपत्र नियमावली २०६४ संशोधन भएपछि यतिवेला दुईथरि बहस चर्चामा छ । एकथरि अहिले भएको नेपाल स्टक एक्सचेन्जको बचाउमा उत्रिएको छ भने अर्कोथरि नेपालमा एउटामात्र स्टक एक्सचेन्जले काम नगरेकाले थप स्टक एक्सचेन्ज ल्याउनुपर्ने तर्क गरिरहेको छ ।

धितोपत्र नियामक नेपाल धितोपत्र बोर्डले लामो समयदेखि नेपालमा थप स्टक एक्सचेन्ज आवश्यक भएको बताउँदै आएको छ । अहिले नयाँ स्टक एक्सचेन्ज खुल्ने गरी भएको संशोधनलाई धेरैले नियामकले निश्चित व्यापारिक घरानालाई लाइसेन्स दिन र सरकारले यसबाट चुनाव खर्च उठाउन तत्काल नियमावली संशोधन गरेको आरोप लगाएका छन् ।

नियामक नेपाल धितोपत्र बोर्ड अहिलेको नियमावलीको संशोधनमा अर्को स्टक एक्सचेन्ज खुल्न पाउने भनेर प्रस्ट शब्द नराखेको बताउँछ । बोर्डका प्रवक्ता रुपेश केसी मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीले स्पष्ट किटान नगरेको बताउँछन् । उनी भन्छन्, ‘यदि अर्को स्टक एक्सचेन्ज खुल्ने गरी प्रावधान राखेको भए पनि त्यसका लागि निश्चित समय दिएर आवेदन माग हुन्छ । बोर्डको सर्त पूरा भएकाले मात्र अनुमति पाउनेछन् । अहिलेसम्म कुनै पनि आवेदन बोर्डमा छैन ।’

उनले अहिले मिडियामा भएको जस्तो निश्चित व्यापारिक घरानालाई लाइसेन्स दिने हल्लामा सत्यता नभएको बताए ।

अहिले नेपाल स्टक एक्सचेन्जमा २४० वटा कम्पनी सूचीकृत छन् । औसतमा १५० कम्पनीले सक्रिय रुपमा कारोबार गरिरहेका छन् ।

भएको नेप्सेलाई डुबाउन खोजियो: नेप्से कर्मचारी

अर्को स्टक एक्सचेन्ज खुल्नसक्ने गरी भएको नियमावली संशोधनको विरोध नेपाल स्टक एक्सचेन्जको कर्मचारी युनियनले गरेको छ । नेप्से कर्मचारी युनियनले विज्ञप्ति नै जारी गरेर धनाढ्य व्यापारीहरूको प्रभावमा परेर नेप्सेको अर्बौंको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिध्याउने बाटोमा नियामक हिँडेको आरोप लगाएको छ ।

अहिले नेपालमा एउटामात्र स्टक एक्सचेन्ज छ । जुन सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज हो । नेप्सेको सेवा प्रवाहप्रति आम लगानीकर्ताको गुनासो सधैँ रहँदै आयो । विज्ञहरुले पनि नेप्से जति गर्दा पनि नसुध्रिएको आरोप लगाएका छन् ।

उसले आफूलाई नसुधार्ने अनि प्रतिस्पर्धामा जानुपर्छ भनेर खुट्टा कमाउने नेप्सेको अहिलेको प्रवृत्ति भएको पूँजी बजारविज्ञ डा. केशव श्रेष्ठ बताउँछन् ।

तर, नेप्सेका प्रवक्ता मुरारी पराजुली भने नेप्सेका कर्मचारी पनि अर्को स्टक एक्सचेन्जको विरोधमा नभएको तर भएकोे एक्सचेन्जलाई पुनर्संरचना गरेरमात्र अर्कोको लागि पहल गर्नुपर्ने बताउँछन् ।

नेप्से सुध्रिएन, अर्को स्टक एक्सचेन्ज चाहिन्छ: विज्ञ

नेप्सेले काम नगरेकैले अर्को स्टक एक्सचेन्ज आवश्यक भएको हो । दुइटा एक्सचेन्ज हुँदा प्रतिस्पर्धा हुन्छ । जसले गर्दा परफर्मेन्समा सुधार आउँछ । पहिला नेपाल टेलिकममात्र हुँदा सेवाग्राहीले सास्ती पाएका थिए । तर, एनसेल, स्मार्ट , युटीएललगायतका टेलिकम आएपछि अहिले एनटीसीको सेवा सुधारिएको छ । एनटीसी प्रोफेसनल भएको छ । यद्यपि नेपालको जनसंख्या र कारोबारको हिसाबले अर्को स्टक एक्सचेन्ज आवश्यक नभएको विज्ञ डा. श्रेष्ठ बताउँछन् ।

भारतमै १८/२० वटा एक्सचेन्ज मर्ज भएर दुइटामा झारिएको छ । नेपालजस्तो १ अर्ब कारोबार हुने ठाउँमा किन दुइटा चाहियो भन्ने प्रश्न उठ्ने उनको तर्क छ ।

अर्कोतर्फ लगानीकर्ताको आँखाबाट हेर्ने हो भने दुइटा एक्सचेन्जमा कम्पनी सूचीकृत भयो भने कम भएकोबाट किन्छ भने बढी भएकोमा बेच्छ । नेप्सेको आँखाबाट हेर्दा उनीहरुको एकाधिकार तोडियो । नेप्सेलाई निजीकरण गर्ने स्पेस पनि सरकारसँग छ । अहिले नेप्सेको विरोध भनेको एकाधिकार तोड्न नचाहने, प्रतिस्पर्धा जानमा नचाहने, सुधार्न नचाहने र राजनीति गरेर जागिर खाने पारामात्र देखिएको श्रेष्ठको बुझाइ छ ।

नयाँ एक्सचेन्ज किन विशेष व्यापारिक घरानालाई ?

नयाँ स्टक एक्सचेन्जको आवश्यकता अहिलेको नेतृत्वले मात्र देखेको होइन । नेपाल धितोपत्र बोर्डमा यसअघि अध्यक्ष भएकाहरुले पनि विभिन्न सार्वजनिक कार्यक्रममा पटिकपटक अर्को स्टक एक्सचेन्ज चाहिन्छ भनेका थिए ।

तर, अहिले नियमावली पास हुनु र निर्वाचन नजिकिनुमा ‘बाघ कराउनु र बाख्रा हराउनु’ भए जस्तो देखिएको विज्ञहरु बताउँछन् । निश्चित व्यापारिक घरानालाई लाइसेन्स दिन नियमावली संशोधन गरेको आरोप खेपेको बोर्डले अहिले मिडियामा हल्ला भएको समूहलाई अनुमति दिएन भने बोर्डको नियतमा प्रश्न नउठ्ने लगानीकर्ता बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *