‘चीनले अघोषित नाकाबन्दी गर्‍यो, अर्बौंका सामान नाकामै अड्कियो’ – Nepal Press

‘चीनले अघोषित नाकाबन्दी गर्‍यो, अर्बौंका सामान नाकामै अड्कियो’

काठमाडौं । चिनियाँ नाकामा अड्किएका अर्बौंका सामान छुटाउन सरकारबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

दशैं नजिएको तर बेच्नुपर्ने अर्बौंका सामान नाकामै रोकिँदा सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्ष कुमार कार्कीले बताएका छन् । ‘उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ’, अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयौ मालबाहक कन्टेनर नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रित अर्बौंका सामान सडिने, कुहिने र बिग्रने भई नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ ।’

महासंघले यी समस्या तत्काल समाधान गर्न पहल गरिदिन पनि अनुरोध गरेको छ । धेरै उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर तिर्नसमेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ । बैंकले दिएको मानसिक तनावका कारण कतिपय उद्योगी व्यवसायीहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएको भन्दै महासंघले यसतर्फ गम्भीर बन्न सरकारलाई अनुरोध गरेको छ ।

‘व्यापार व्यवसाय गर्न सामान नाकामा थन्किएको, बैंकले ऋण चुक्ता गर्न बारम्बार ताकेता गर्दै सम्पत्ति लिलाम तथा जफत गर्ने धम्की दिँदै मानसिक तनाव दिइरहेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘यावत समस्याले गर्दा व्यवसायीहरु मानसिक सन्तुलन गुमाएर आत्महत्या गर्नुपरेका उदाहरणहरु छन् ।’

बैंकको ब्याजदर अत्यधिक बढेको भन्दै बैंकको ब्याजदर नियन्त्रण गर्नसमेत महासंघले नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *